पुरुषहरू असुरक्षित घर बाहिर तर महिलाहरू घर भित्रै !

- नेपाली हेल्थ
डा. दोस्ती रेग्मी

त्यसो त म कुनै मनोबैज्ञानिक होईन, न त महिला हिंसा सम्वन्धिको विज्ञ । मात्रै एउटा अस्पतालमा काम गर्ने डाक्टर हुँ । अस्पतालमा आउने विरामीसंग दैनिक जसो साक्षात्कार गर्छु । त्यहि अनुभवको आधारमा यो अनुभुति पस्केको हुँ ।

अन्य विरामीजस्तै अस्पतालमा चोटपटक लागेका विरामी पनि आउने गर्छन । त्यस्तो बेलामा पेट भित्रका अंगहरुमा पनि चोट परेको छ कि भनेर अल्ट्रासाउन्ड गरि जाँच गर्ने चलन हुन्छ ।  यसबाट शरीर भित्र र बाहिरको अवस्था एकीन हुन्छ ।

चोटपटकका बिरामीहरु कि त दुर्घटनाका हुन्छन् कि त झैझगडाकाबीच हुने कुटपिटका । मेरो अनुभव र अस्पतालको तथ्यांकले पनि बताउँछ कि चोटपटक लागेर अस्पतालमा आउने विरामीमध्ये सवारी दुर्घटनाका सबैभन्दा धेरै हुन्छन् । 

त्यसपछि मदिरा सेवन गरेर वा ग्याङ्ग फाइट गरेर हुने चोटपटकहरु। तर यी तथ्यांक घरबाहिर हुने घटनाकाबाट सिर्जित हुन् । यस्ता घटनामा पुरुषहरू नै धेरै जोखिममा देखिन्छन् ।

तर मैले यहाँ आज घर बाहिर भन्दा घर भित्रैबाट हुने चोटपटकको कुरालाई विशेष जोड दिन खोजेको हुँ । तपाईँहरुलाई थाह छ घर बाहिर मात्रै होइन घरभित्र पनि चोटपटकहरु लाग्ने गर्दछन् ।

विशेषगरि वृद्धबृदाहरु र बच्चाहरु भर्याङबाट, कौसीबाट झरेर, लडेर हुने दुर्घटनाहरु । तर त्योभन्दा धेरै घरेलु हिंसामा परेर आउने महिलाहरु हुँदा रहेछन्।

एउटा प्रसंग जोडि हालु, केही दिन अघि श्रीमानको कुटाईबाट सख्त घाईते भएकी गौशालाकी २० वर्षीया एक महिलालाई छिमेकीले त्रि बि शिक्षण अस्पताल ल्याए।

अस्पताल ल्याउँदा तीन महिनकी गर्भवती ती महिलालाई पेट दुख्ने र योनिबाट रगत बग्ने समस्या थियो । अल्ट्रासाउन्ड गरेर हेर्दा ती महिलाको गर्भ तुहिसकेको थियो ।

त्यस्तै अर्को घटना आयो सामाखुशीकि ३४ बर्षिया महिला तीन दिन देखि पेट र ज्यान दुख्ने भनेर माइतीका नातेदारसँग त्रिवि शिक्षण अस्पताल आइन्। पेटको अल्ट्रासाउन्ड गरेर हेर्दा पेटभित्र त केही देखिएन तर मेरा आँखा उनको छातीको तल्लो भाग र ढाडमा भएका चोटहरुतिर गए।

ती चोटहरु तीन दिन अघिका पक्कै थिएनन् । छातीको एक्स रे गरेर हेर्दा करङ भाँचिएको देखियो । त्यो फ्रयाक्चर कम्तीमा दुई हप्ता पुरानो थियो । सुरुमा ती महिलाले भर्याङबाट लढेर ती चोटहरु लागेको भनेर आफुमाथिको हिंसा लुकाउन पनि खोजिन् तर अन्त्यमा आफुलाई श्रीमानले लगातार कुटपिट गर्दै आएको कुरा रुँदै बताईन्।

यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् जसले देखाउँछ पुरुषहरू घरबाहिर असुरक्षित र महिलाहरू घरभित्र असुरक्षित छन्।

हाम्रो जस्तो लैङ्गिक आसमानता भएको देशमा पुरुषद्वारा महिलामाथि हुने लैङ्गिक हिंसा अत्यधिक छ। हुनत रिस र आबेग पुरुष मात्रको नभै मानविय स्वभाव हो र पुरुषद्वारा महिलामथि हुने र महिलाद्वारा पुरुषमथि हुने सबै किसिमका भौतिक, मौखिक र भावनात्मक हिंसाहरुलाई समेटेर आईपिभि अर्थात ईन्टिमेट पार्ट्नर भाएलेन्स भनिन्छ।

मानिस लगायत सम्पूर्ण प्राणी पंक्षी एक्लोपनबाट, भोजन लगायतका अत्यावश्यक आवस्यकताको अभाव र असुरक्षाबाट भयवित हुन्छ र त्यसकारण जोडी बनाएर बस्छ । समूहमा बस्छ। भगवान बुद्धले भनेका छन् संसारमा दुख छ र हरेक मान्छे सुख चाहन्छ र यस अर्थमा हामी सबै समान छौं र हामीले एक अर्कालाई सहयोग गर्नुपर्छ। हामी सबै महिला पुरुषले एक अर्कालाई माया र सुरक्षा दिनुपर्छ । कसैको माया र सुरक्षाको जिम्मेवारी लिनुपर्नेले उल्टो माया र सुरक्षा खोस्ने काम गर्नु हुदैन।

* डा. रेग्मी लेखक त्रिवि शिक्षण अस्पतालमा रेडियोलोजी विभागमा कार्यरत छन् ।


Facebook Comment


थप समाचार