विमानस्थलको आन्तरिक टर्मिनलमा नर्भिकको स्वास्थ्य क्लिनिक
काठमाडौँ १२ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा पनि निःशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिक सञ्चालनमा ल्याएको छ । हस्पिटलले यसअघि अन्तराष्ट्रिय टर्मिनल तर्फको आगमन कक्षमा समेत यस्तै क्लिनिक सञ्चालनमा ल्याएको थियो ।
शुक्रबार आयोजित एक कार्यक्रममा नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य र विमानस्थलस्थित नागरिक उड्ड्यन कार्यालय, नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द प्रसाद उपाध्यायले संयुक्त रुपमा रिवन काटी उक्त क्लिनिकको उद्घाटन गरेका थिए ।
सो क्लिनिक मार्फत नर्भिकले आन्तरीक हवाई यात्रीहरूमा आइपर्न सक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको छ ।
उक्त निःशुल्क आकस्मिक चिकित्सा कक्षबाट यात्रुहरूले बिहानदेखि साँझसम्म ड्युटीमा रहने चिकित्सक, नर्सिङ्ग स्टाफ र प्यारामेडिकको सेवा प्राप्त गर्नुका साथै सबै खाले प्राथमिक उपचार प्राप्त गर्नेछन् । साथमा क्लिनिकले निबुलाइजेसन, इ.सी.जी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, ट्रली शय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटको सेवा÷सुविधा समेत प्राप्त गर्नेछन् ।
नर्भिक सेवाका अतिरिक्त उक्त क्लिनिक नजिकै सुसज्जित मोवाइल सी.सी.यु. (अति विशिष्ट एम्बुलेन्स) को सेवा उपलब्ध हुनेछ । उक्त एम्बुलेन्समा जीवनरक्षाका सबै अत्यावश्यकीय उपकरणहरू जस्तैः पोर्टेबल भेन्टिलेटर, डेफिव्रिलेटर, सक्सन मेसिन, मनिटर, अक्सिजन, इ.सी.जी. मेसिन, जीवनदायी सबै औषधिहरू र चिकित्सकको सेवा उपलब्ध हुनेछ ।
अत्याधुनिक सुविधासम्पन्न उक्त मोवाइल सी.सी.यु. (अत्याधुनिक एम्बुलेन्स) बिहानेदेखि साँझसम्म उपलब्ध हुनेछ ।
सम्पर्क इमेल : [email protected]