स्वदेशी सुर्ती उद्योगहरुद्धारा २१ महिना देखि कानूनको अटेरी, नियामक निकाय मौन

काठमाडौँ, १६ फागुन । सुर्तीजन्य पदार्थको प्याकेटको बाहिरी भागमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश छोपिनुपर्ने नियम लागू भएको २१ महिना पुग्यो तर स्वदेशी उद्योगहरुले अहिलेसम्म अटेरी गर्दै आएका छन् । कानून कार्यान्वयन गर्ने निकायहरु मौन बसेका छन् ।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि स्वास्थ्य मन्त्रालयले २०७१ सालमा पुरानो निर्देशिका संसोधन गरि सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, रयापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्ेदश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ ल्याएको थियो ।

सो निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको प्याकेटमा रहँदै आएको ७५ प्रतिशत चेतावनीमुलक चित्र राख्ने व्यवस्था बढाएर ९० भाग छोप्नुपर्ने व्यवस्था गरिएको थियो । स्वास्थ्य मन्त्रालयले सो व्यवस्था २०७२ जेठ १ देखि लागू हुने गरि ६ महिना अघि नै निर्णय गरेको थियो । तर त्यस व्यवस्थाको कार्यान्वनयमा केही विदेशी कम्पनी बाहेक स्वदेशीले टेरेको छैन ।

स्वास्थ्य मन्त्री गगन थापाले मन्त्री भएको केही समय पछि नै ९० प्रतिशत चित्र कार्यान्वनयमा ल्याउने बताएका थिए । तर अहिले उनी पनि चित्र छाप्ने विषयमा भने मौन छन् । स्वास्थ्य मन्त्रालयले माघ १० मा सुर्तिजन्य पदार्थ विक्री वितरणलाई व्यवस्थित गर्न भन्दै केही निर्णय गरेको थियो तर त्यसमा पनि ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश राख्ने कुरा कँही कतै उल्लेख छैन ।

मन्त्रालयले गरेको नयाँ व्यवस्थामा विक्री गर्नका लागि इजाजत लिनुपर्ने र गर्भवती र १८ बर्ष मुनिका बालबालिकाले खरीद बिक्रीमा सहभागी हुन नपाउने सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ का केही बुँदाहरु उल्लेख छ ।

त्यसो त ९० प्रतिशत चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने कानून बनाए बापत नेपालले अन्तराष्ट्रिय स्तरको व्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड समेत हात पारेको थियो ।

‘९० प्रतिशत तत्काल कार्यान्वनय गर ‘

यसैबीच सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशको कार्यान्वनयको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी बक्ताहरुले ढिलो नगरी यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिएका छन् ।

सुर्ती नियन्त्रण सम्वन्धी कानूनको पैरबी गर्दै आएको संस्था एक्सन नेपाल, स्वास्थ्य सम्वन्धी अनलाईन न्युज पोर्टल नेपाली हेल्थ डटकम र स्वास्थ्य तथा बाताबरण सचेतना मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी बक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सभासद राधाकृष्ण कंडेलले कानून बनाएर कार्यान्वनयको अवस्थामा नपुग्नु सरकारको कमजोरी भएको भन्दै यसलाई तत्काल कडाईका साथ लागू गर्नुपर्ने बताए । उनले ९० प्रतिशत चित्र छापिएका प्रडक्टमा मात्रै स्टिकर दिनुपर्ने अर्थमन्त्रालय अन्तर्गतको अन्तशुल्क महाशाखाले अहिले पनि ७५ प्रतिशत चित्रमै अन्तशुल्क स्टिकर टास्नु ठूलो कमजोरी भएको बताए । ‘सरकारको कानून सरकारले नै उलंघन गरेको अवस्था देखिन्छ । यसमा उद्योगीहरुसंगको मिलोमतो पनि हुनसक्छ,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालका प्राडा करबीरनाथ योगीले सुर्तीजन्य पदार्थका कारण मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै त्यसमा नियन्त्रण जरुरी रहेको बताए । उनले भने, ‘क्यान्सर, मुटु, दम, सीओपीडी, स्ट्रोक, क्षयरोग आदिका मुख्य कारण सुर्तिजन्य पदार्थ हो । यसकारण यसलाई नियन्त्रण जरुरी छ । कानून कडाईका साथ कार्यान्वनयको खाँचो छ ।’

स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता भोगेन्द्र डोटेलले सुर्तीसम्वन्धी कानून स्वास्थ्य मन्त्रालयले बनाएको र त्यसलाई कार्यान्वनय गराउन अरु मन्त्रालयको समेत जिम्मेबारी रहेको भन्दै यसमा समन्वयको अभाव भएको हुनसक्ने बताए । स्वास्थ्य मन्त्रालयले आगामी चैत १ देखि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशित गरिसकेको भन्दै यसमा सबैले सहयोग गर्न आग्रह गरे । उनले सुर्तीजन्य पदार्थको नियम कार्यान्वनय भएको नभएको हेर्नका लागि अनुगमन चुस्त पार्ने बताए ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले नियम उत्कृष्ठ भएको तर कार्यान्वनय गर्न कठिन भएको तितो यथार्त पोखे । उनले सरकारी संयन्त्रमा हुने सरुवा बढुवाले गर्दा समेत समयमै कार्यान्वनय गर्न बाधा पुगिरहेको बताए । उनले भने, ‘कहिले स्वास्थ्य को सरुवा हुन्छ , कहिले प्रशासनको , कहिले प्रहरीको अनि अनुगमनमा निस्कन समेत अप्ठेरो पर्छ ।’

स्वास्थ्य मन्त्रालयका कानून उपसचिव शम्भु रेग्मीले सुर्ति नियन्त्रण सम्वन्धी कानून बनिसकेको र लागू भईसकेको अवस्था जनाउदै कार्यान्वनयमा कमजोरी हुनुु स्वास्थ्य, गृह, अर्थ आदि मन्त्रालयका समेत कमजोरी भएको बताए । उनले सुर्तिका लागि केही कानून १ चैत देखि कार्यान्वनय आउने तयारी भएको बताए ।

कृषि मन्त्रालयका उपसचिव खिमानन्द भुसालले ऐन कार्यान्वनयमा आएको जटिलताबारे जानकारी दिदै त्यसलाई सबै पक्ष मिलेर सुल्झाउनुपर्ने बताए ।

कार्यक्रममा प्रस्तुती राख्दै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मानव स्वास्थ्यमा प्रत्याक्ष हानी हुने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न बनेको कानूनको कार्यान्वनय हुन सरकारी स्तरबाट ढिलाई हुनु लज्जाको विषय भएको बताए । उनले बर्तमान स्वास्थ्यमन्त्री गगन थापा समेतको अग्रसरतामा उतिवेला बढो अप्ठेरोसंग कानून पास भएको तर अहिले स्वयं मन्त्री हुँदा त्यो कार्यान्वनयको विषय ओझेल परेजस्तो देखिएको बताए । उनले ऐन कार्यान्वनय गर्न युवा स्वास्थ्य मन्त्रीले आँट देखाउनपर्ने अवस्था आएको बताए ।

नेपाल हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपानेले ऐन बनाउन मिडिया समेत दवावले सकारात्मक भुमिका खेलेको भन्दै कार्यान्वयनका समेत मिडियाको रोल सकारात्मक हुने बताए । उनले सुर्ति नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वनय सिस्टमले भन्दा पनि व्यक्तिको सक्रियता हावी भएको आरोप लगाए । ‘कहिले को मन्त्री आउछ अलिकति अगाडी बढ्छ । कहिले को प्रहरी प्रमुख आउछ अलिकति अगाडी बढ्छ । तर सिस्टमले हुने गरेको छैन । यो विडम्वनापूर्ण कुरा हो ।’

कार्यक्रममा ऐन बनाउँदाका भोगाई राख्दै स्वास्थ्य तथा बाताबरण सचेतना मञ्चका अध्यक्ष टिका कंडेलले ल्याइसकेपछि कार्यान्वनयमा नआउनु दुखद पक्ष रहेको बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरुका तर्फबाट पत्रकार प्रवीण ढकालले ऐन कार्यान्वनयको अवस्था र मिडियाको भुमिका बारेमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *