ताप्लेजुङ जिल्ला अस्पतालमा यसरी भयो ‘रप्चर्ड इक्टोपिक प्रेग्नेन्सी’को शल्यक्रिया

गत २२ माघको दिन थियो ताप्लेजुङ जिल्ला अस्पतालको आकस्मिक कक्षमा पेट दुखेर आत्तिएकी महिलालाई एक महिलालाई उनका परिवारले ल्याई पुरयाए  । उनी रहेछिन ताप्लेजुङ नगरपालिका -७, दोखुकी ३० बर्षीया कमला लिम्बु ।

डा. उत्तम पच्या

इमरेन्जेन्सीमा आत्तिदै आएको बिरामीलाई तत्काल रेस्पोन्स गर्नु हाम्रो दायित्व थियो । फटाफट हामीले हिस्ट्री लिन थाल्यौँ । उनको पेट दुखाई नाभी माथि थियो ।

हामी उनको तत्कालको ‘भाइटल’ चिन्हहरु(ब्लड प्रेसर, मुटुको ढुकढुकी, श्वासप्रश्वास तथा तापक्रम) लिन थाल्यौँ । सबै रिपोर्ट सामान्य थियो । पेटको सामान्य जाँच गरयौँ त्यसको पनि रिर्पोट सामान्य नै देखिन्थ्यो ।

उनी ग्यास्ट्राइटिसको बिरामी भएकोले सिभियर ग्यास्ट्राइटिस हुनसक्ने आकलन गर्दै ‘एक्युट कोलेसिस्टाइटिस (पित्तथैलीको सुजन) अर्को सम्भावना हुन सक्ने सोची मुखबाट केहि पनि नखुवाई रक्तनलीबाट बिरामीलाई आवश्यक पर्ने खाना दिइयो ।

अर्को दिन अर्थात २३ गते विहान  ७ बजे तिर पेट दुखाइको बारे सोध्दा केहि कम भएको बताइन । मैले तत्कालै अल्ट्रासाउण्ड गर्ने बिचार गरेँ,
‘एक्युट कोलेसिस्टाइटिस’ हो की होइन भनेर ।

तर अल्ट्रासाउण्डमा सोचेको भन्दा बेग्लै निदान पो देखियो । पेट भरि फ्लुइड मात्र देखिन्छ। गर्भाशयको दायाँ नलीको क्षेत्रमा ‘हापोइकोइक स्याडो देखिन्छ ५* ४वर्ग सेमीको  ।

मेरो मनमा शंका लाग्यो , कतै यो गर्भाशयको अण्डबाहिनी नलिबाट गर्भ फुटेको अवस्था अर्थात ‘रप्चर्ड इक्टोपिक प्रेग्नेन्सी’ त होइन ? मैले तत्काल गर्भ परीक्षणका लागि पिसाव जाँच गराएँ । रिपोर्ट आयो मेरो शंका सहि निस्कियो । गर्भरहेको देखियो ।

मेरो निदानमा यसले थप प्रमाणको काम गर्‍यो  र अनि तुरुन्त मेरा चिकित्सक साथीहरु तथा प्यारमेडिक्स साथीहरुसंग छलफल गरेँ । सबैले निर्क्यौल गर्यौ यो ‘रप्चर्ड इक्टोपिक प्रेग्नेन्सी’ नै हो ।

अपरेसन गर्ने निर्णय भो, बिरामी तथा उनका श्रीमान संगै आफन्तहरुसंग छलफल गर्यौं । उहाहरुले पनि तत्कालै निर्णय दिनु भयो ।  ब्लडको लागि क्रस म्याच गर्न तीन जना डोनर खोज्यौं, अस्पताल भित्रकै कर्मचारीबाट रक्तदान भयो । यसले हाम्रो कामलाई थप हौसला प्रदान गरयो ।

अपरेसन थियटरमा ढाडमा सुइ लगाई अपरेसन शुरु गर्यौं । साथै रगत पनि चढायौँ  । पेट खोल्दा त्यहाँ रगतको आहाल थियो । तुरुन्तै सक्सन गर्यौं र गर्भाशयलाइ खोज्यौंँ, तत्कालै फुटेको अन्ड बाहिनी नली दाहिने तिरको गर्यौं ।  अन्ड बाहिनी नलीको ‘इस्थ्मस’ भन्ने भागमा रहेछ जहाँ गर्भ बसेको र फुटेको । जुन साधारणतया सामान्य ठाँउ होइन । तत्कालै सो अन्ड बाहिनी नलीलाई चिरयौँ अनि गर्भाशयतिरको भागलाई बाँध्यौँ अल्ट्रासाउण्डले देखाए जस्तै त्यहाँ ४*५ वर्ग से मीको गर्भ रहेछ ।

‘रप्चर्ड इक्टोपिक प्रेग्नेन्सी’ सामान्यतया लक्षण देखिन्छ तर यो केशमा भने त्यस्तो स्पष्ट लक्षण थिएन । केशमा देखिने महिनावारी रोकिनु, गर्भाशयको मुखबाट रगत बग्नु र पेट दुख्नु अनि बिरामी शकमा हुनु जस्ता लक्षण थिएन ।

यो बिरामीलाई केवल पेट दुखाइ थियो त्यो पनि ग्यास्ट्राइटिसको लक्षणसंग मिल्ने । निदान बेलैमा नभाको भए उनको जीवन जोखिममा पर्थ्यो अझ यहाँबाट  रेफर गर्नु परेको भए त झनै जोखिम थियो ।

हाम्रो टीमले उनलाई जीवन दियो । रगत बग्न रोकिएको यकिन गरेपछि पेट सिलायौँ रअपरेसन गरेको पाचौँ दिनमा टाँका खोली घर पठायौँ ।  बिरामीले जाने बेलामा मुस्कान सहित धन्यवाद दिँदा हामीले पुरस्कारको रुपमा ग्रहण गरयौँ ।

उपचार पछि कमला लिम्बु

हुन पनि जीवन र मृत्युको दोषाँधमा पुगिसकेको व्यक्तिलाई जब बचाउँन सकिन्छ, त्यतिवेला हामी स्वास्थ्यकर्मीको मनमा आउने अलौकिक आनन्दको बर्णन गरिसाध्य हुँदैन । यहि अलौकिक आनन्द नै हामी चिकित्सक तथा स्वास्थ्यकर्मीको परम सन्तुष्टि हुन्छ ।

जटिल ठानिएको केश जब पार गरिन्छ र बिरामीको मुहारमा निको भएको मुस्कान देखिन्छ । चिकित्सकका लागि त्यो भन्दा ठूलो महत्व केही हुँदैन । कमला लिम्बुको केशमा पनि ठ्याक्कै त्यस्तै भयो ।

अहिले जताततै समाचारमा सुन्न पाइन्छ डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भयो भन्ने । के साच्चिकै डाक्टरको लापारबाहीले बिरामीको मृत्यु भएको हो त ? हामी एकपटक दोहोराएर प्रश्न गरौँ न धेरै जसो त डाक्टरले बिरामीलाई बचाएकै हुन्छ नि तर कहिलेकाही प्रयास गर्दागर्दै पनि बचाउन सकिदैन । के त्यो डाक्टरकै दोषको बिल्ला लगाउने ?

यहि केश हेरौँ न मैले जुन उपचार गरेँ । सफल पनि भयो । तर यदि प्रयास गर्दागर्दै बाबजुत केस बिग्रिएको भए मलाइ पनि लापारबाहीको बिल्ला भिराइन्थ्यो कि ? कता कता मनमा शंका पैदा हुन्छ । हामी सेवा प्रदायक हौँ । सेवा प्रदायकलाई काम गर्न हौसला दिनु पर्छ । र काम गर्नलाई हौसला नै ठुलो बल हो ।

कुनै पनि रोगको उपचारका लागि अस्पतालमा टिमवर्क जरुरी छ । चिकित्सकको टीम, नर्सिङ्ग टीम होस् वा ल्याब, एक्सरे, फार्मेसी तथा कार्यालय सहयोगी हरु नै किन नहुन सबैको भूमिका महत्वपूर्ण हुन्छ । यस केसमा हाम्रो सर्जिकल टीमलाई सहयोग हरेक विभागबाट भएको छ ।

अन्तमा,  जिल्ला अस्पतालमा पहिलो पटक गरिएको यो जटिल सल्यक्रियामा मलाई सहयोग पुरयाउने डा. दीपक बन्जाडे (एडभान्स एस बि ए), जगत राजबंशी (एनेस्थेसिया एसिस्टेन्ट), शर्मिला घलान(स्टाफ नर्स), सिअनमी ओम कुमारी गुरुङ तथा सहयोगी दिदि चन्द्रा बुढाथोकी साथ थियो,  साथै डा. सोनिङ्ग लामा तथा डा. चिरन्जीवी खड्का प्रति कृतज्ञ छु ।

# डा.  पच्या जिल्ला अस्पताल ताप्लेजुङमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *