बालबालिकाको आँखामा हुने क्यान्सर ‘रेटिनोब्लास्टोमा’ के हो ? कसरी जोगिने ?

रेटिनोब्लास्टोमा भनेको पाँच वर्ष मुनिका बालबालिकाहरुको आँखापर्दामा हुुने एक प्रकारको आँखाको क्यान्सर हो । यो प्राय: नवजात शिशुु तथा दुई बर्ष मुनिका बालबालिकाहरुमा देखिन्छ ।

हरेक २०,००० नवजात शिशु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ % ओगटेको छ । यो रोग समयमै निदान र उपचार नभएमा बालबालिकाको दृष्टि गुम्नुका साथै शरिरको अन्य अङ्गमा फैलिएर ज्यान समेत जान सक्छ ।

रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

रेटिनोब्लास्टोमाको लक्षण के हो ?
रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् ।

जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो ।
यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु यसका अन्य लक्षण हुन् ।

उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुनसक्छ । यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ ।

हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । र यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन ।

कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाई गर्छन् । यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ ।

यसका असरहरु के के छन् ?

विकसित देशहरुमा यस रोगबाट प्रभावित बालबालिकाको मृत्युदर ३ प्रतिशतमात्र भएपनि विकासोन्मूख देशहरुमा अस्पताल लान ढिलो भएकै कारण यस रोगले हुने मृत्युदर ३५ प्रतिशत सम्म भएको देखिन्छ ।

यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ । दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ ।

उपचार व्यवस्था के छ ?
यो रोगको शंका भएमा आँखा रोग विशेषज्ञ कहाँ गई विस्तृत आँखा जाँच गर्नुका साथै आवस्यक परेमा आँखाको भिडियो एक्स–रे, सिटी स्क्यान, एमआरआइ जस्ता जाँच गरि यो रोग पत्ता लगाउन सकिन्छ ।

यो रोग प्रारम्भिक अवस्थामा पत्ता लागेमा आँखा तथा दृष्टिलाई ठूलो हानी नहुने गरि लेजर जस्ता साधारण प्रकृयाद्धारा उपचार गर्न सकिन्छ भने ढिलो भएमा ज्यान जोगाउनका निम्ति आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्ने शल्यक्रिया गर्नुपर्ने हुन्छ । लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी र रेडियोथेरापी पनि रोगका प्रमुख उपचार पद्दतिमा पर्दछ ।

तिलगंगा आँखा प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ ।

यसैबीच तिलगंगा आँखा प्रतिष्ठानमा भोली (२५ मंसिर)का दिन दृष्टि र जिवन जोगाउन समयमै रेटिनोब्लास्टोमा पत्ता लगाई उपचार गर्नै विषयक नचेतनामूलक कार्यक्रम संचालन हुन गईरहेको छ ।

कार्यक्रममा विभिन्न अस्पतालबाट आएका बालरोग विशेषज्ञ साथै बालरोग आवाशिय चिकित्सकलाई आँखाविशेषज्ञद्धारा यस रोग कसरी छिटो पत्ता लगाउने र उपचारको लागि जतिसक्दो छिटो आँखा अस्पतालमा पठाउने सम्बन्धि जानकारी प्रदान गरिने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *