क्वाटर अभाव भएपछि अप्रेशन थिएटरमै सुत्छन् डाक्टरहरु

Exif_JPEG_420

सुखिलाल चौधरी/ उदयपुर, १४ असोज – जिल्ला अस्पताल उदयपुर चिकित्सकहरु अप्रेशन थिएटरमा सुत्न बाध्य भएका छन् । अस्पतालमा चिकित्सकहरुका लागि छुट्टै क्वाटर नहुँदा अप्रेशन थ्रेटरमा सुत्न बाध्य भएका हुन ।

२०७० सालबाट ५० शैय्यामा बृद्धि भएको जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको पदपुर्ती हुन सकेको त छैन नै कार्यरत चिकित्सकले समेत क्वाटर नपाउँदा अस्पताल छाड्न थालेका छन् ।

अस्तपालमा बस्ने समेत सुविधा नभएको भन्दै अन्यत्र जिल्लामा सरुवा र काज लिन थालेपछि अस्पतालको उपचार सेवा समेत प्रभावित हुन थालेको छ ।

दरबन्दी १४ डाक्टरको कार्यरत २ जना

प्रशासन शाखाले दिएको जानकारी अनुसार जिल्ला अस्पतालमा विभिन्न रोगका १४ चिकित्सको दरबन्दी छ । तर हाल दुई जना मात्र कार्यरत छन । कार्यरत रहनेमा अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. बिष्णुबहादुर बस्नेत र एक मेडिकल अधिकृत डा. बिशालकुमार देव मात्र छन् ।

क्वाटर नभएपछि मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यालय प्रमुख समेत डा बस्नेतले आफ्नै कार्यकक्षलाई सुत्ने क्वाटर बनाएका छन । तर करारमा नियुक्ति लिएका मेडिकल अधिकृत डा. अमृतकुमार चौधरी र राकेशकुमार बैठा अप्रेशन थिएटरमै सुत्न बाध्य छन् ।

udayapur-hospital-1

अस्पताल विकास समितिका अध्यक्ष शिब रेग्मीले स्थानीय तहबाट गरिएको आग्रह र अनुरोधलाई मन्त्रालयले सुनुवाई नगरेका कारण चिकित्सक र क्वाटरको समस्या रहेको बताए । उनले अरु जिल्लामा चिकित्सक आवस गृह सहितको तीन तल्ले भवन बनेपनि यस जिल्लामा त्यस्तो भवन नबनेकोले समस्या भएको बताए । उनले दरबन्दी अनुसारको चिकित्सक नहुनु र लामो समय नटिक्नुको एउटा कारण चिकित्सकको आवासगृह नहुनु रहेको ठोकुवा गरे ।

अस्पतालमा प्रमुख मेडिकल अधिकृत, कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत, कन्सल्टेन्ट अब्स एण्ड गाईनो अधिकृत, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन अधिकृत, पेडियाट्रिसियन अधिकृत, सर्जन अधिकृत, साईक्याट्रिष्ट अधिकृत र मेडिकल अधिकृत आठौं तहको दरबन्दी भएपनि कुनै विशेषज्ञ नआएको मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णुबहादुर बस्नेतले बताए ।

अस्पतालमा एनेस्थेसियामा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत समेत नभएको प्रमुख डाक्टर बस्नेतले बताए । यसैगरी डेन्टल शाखामा पनि शुन्य छन् । फिजियोथेरापिष्ट लगायत अन्य अति आवश्यक कर्मचारी समेत छैन ।

यता आवश्यकता अनुसार डाक्टरहरु उपलब्ध नहुँदा उपचार प्रभावित हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी बिरामी आउने गरेका छन् । त्यसमा दैनिक सरदर एक दर्जनको हारहारीमा प्रसुती सेवा लिन आउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *