पाँचसय साठी जनाको मिर्गौला परीक्षण

 

[ File # csp5576624, License # 1631883 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / megija
बागलुङ, ७ असोज –  बागलुङका ५६० जनाले निःशुल्करुपमा आफ्नो मिर्गौला परीक्षण गरेका छन् । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले बिहीबार यहाँ आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट सर्वसाधारण लाभान्वित बनेका हुन् । स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले शिविरमा सेवा उपलब्ध गराएका थिए ।

मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधिसमेत वितरण गरिएको फाउन्डेशनका संयोजक गणेश उप्रेतीले जानकारी दिए । फाउन्डेसनले बर्सेनि यस्ता शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको पहिचान र उपचारमा सघाउन शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष एवम् मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताए।

फाउन्डेसनले देशका विभिन्न ठाउँमा पुगेर मिर्गौला रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य पनि गर्दै आएको छ । बागलुङमा भएको शिविरमा पाँचसय जनाको जाँच गर्ने लक्ष्य राखिए पनि सर्वसाधारणको अत्यधिक भीड भएपछि सो सङ्ख्या बढाइएको थियो ।

मिर्गौला जाँचका लागि बिहानैदेखि शिविरस्थलमा सर्वसाधारणको लाम लागेको थियो । मिर्गौला सामान्य अवस्थामा रहेका व्यक्तिलाई परामर्श र समस्या देखिएका बिरामीलाई उपचार तथा औषधि प्रदान गरिएको शिविरमा सहभागी अमेरिकाका मिर्गौला रोग विशेषज्ञ डा जोन बलले जानकारी दिए ।

अमेरिकाका दुईजना विशेषज्ञ चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । फाउन्डेसनले बागलुङसहित पाँच स्थानमा शिविर सञ्चालन गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

शुक्रबार पर्वतको फलेवास, शनिबार सदरमुकाम कुश्मा, आइतबार कास्कीको लेखनाथ र सोमबार पोखरामा शिविर आयोजना गरिनेछ । प्रत्येक शिविरमा पाँचसय जनालाई सेवा दिने लक्ष्य राखिएको फाउन्डेसनले जनाएको छ । पछिल्लो समय मानिसमा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएपछि यसको रोकथाम र उपचारमा सहयोग पु¥याउन फाउन्डेसनले अभियान थालेको हो ।

“पोखरा, काठमाडौँमा पत्ता लाग्ने मिर्गौलासम्बन्धी रोगका बिरामी बढीजसो गण्डकी, धवलागिरि क्षेत्रका भएको हुनाले पनि हामीले शिविरका लागि यो क्षेत्र रोजेका हौँ”, फाउन्डेसनका अध्यक्ष बस्नेतले भने ।

शिविरमा फाउन्डेसनका सल्लाहकार रहनुभएका निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि सर्वसाधारणलाई मिर्गौलासम्बन्धी परामर्श दिएका थिए। मिर्गौला जाँच गराएका बागलुङ नगरपालिका–२ का राजेन्द्र आचार्यले फाउन्डेसनले सर्वसाधारणलाई निःशुल्क सेवा दिएर प्रशंसनीय कार्य गरेको प्रतिक्रिया दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *