‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट अहिलेसम्म आठको मृत्यु

(नारायण ढुंगाना) चितवन, २ असोज – नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ ।

उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो । इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो । सन् १९९७ ताका नेपालमा माइट भएको पत्ता लागेको भए पनि सङ्क्रमित छ छैन भनेर परीक्षण भएको थिएन । “यसपटकको परीक्षणले भने माइट पनि सङ्क्रमित रहेको प्रमाणित भयो”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भन्नुभयो – “यसरी पत्ता लागेको यो नेपालमै पहिलो हो ।”

थाइल्यान्डबाट आएका पाँचजना विशेषज्ञसहितको टोलीले पिसिआर टेस्टबाट यसरी माइट सङ्क्रमित भएको प्रमाणित गरेको उनले आज जानकारी दिए ।

नेपालकै सबैभन्दा बढी स्क्रब टाइफस रोगको सङ्क्रमण भएको जिल्ला चितवनमा आएर प्रविधिज्ञसहितको टोलीले १० वटा मुसा र माइटको नमुना सङ्कलन गरी लगेको थियो । दश मुसामध्ये सातवटामा माइट पाइएको थियो । स्क्रब टाइफस सङ्क्रमण भएको क्षेत्रमै पुगेर टोलीले नमुना सङ्कलन गरी लगेको थियो । सो क्रममा मुसाको महत्वपूर्ण अङ्गसमेत परीक्षणका लागि काठमाडौँ लगिएको थियो । परीक्षणका क्रममा मुसामा समेत रोग सङ्क्रमण भएको पाइएको डा गुणनिधि शर्माले जानकारी दिए ।

थाइल्यान्डबाट आएका कीटजन्य रोग तथा प्रयोगशालाविज्ञले रोग र किराबारे नेपालका स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिएको जनाइएको छ ।

यही भदौ २४ गते आएको टोलीले मुसाका अङ्ग र माइटसहित चितवनका स्थानीय गाउँलेका ८६ नमुनासमेत सङ्कलन गरेर टोली २७ गते फर्किएको थियो । चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोक क्षेत्रमा मुसा समाएर नमुना सङ्कलन गरिएको थियो । चितवनमा रोग सङ्क्रमणको अनुसन्धानका लागि आउनुभएका महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले चितवनमा पछिल्लो समयमा सङ्क्रमण दरमा भने कमीको सङ्केत देखिएको बताए । दोस्रो विश्वयुद्धका बेला जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो । जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर भनिएको हो ।

स्क्रब टाइफसबाट मर्नेको सङ्ख्या आठ पुग्यो

एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण भएको पुष्टि भएको स्क्रब टाइफस रोगबाट अहिलेसम्म आठजनाको मुत्यु भएको महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले नेपालका ३७ जिल्लामा सङ्क्रमण देखिएको यो रोगका कारण आठजनाको ज्यान गइसकेको बताए । अघिल्लो वर्ष १०१ जना सङ्क्रमित भएका पाइएको थियो । यसरी मृत्यु हुनेमा कैलालीका र सङ्खुवासभाका दुई–दुईजना छन् ।

यस्तै चितवन, गुल्मी, भोजपुर र तनहुँका एक–एकजनाको ज्यान गएको शाखाले जनाएको छ । शाखा प्रमुख डा शर्माले आज दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म २७५ जनामा स्क्रब टाइफस लागेको पाइएको छ । सबैभन्दा बढी चितवन जिल्ला घर भएका मात्रै ९९ जना सङ्क्रमित भएका छन् । अरू ३६ जिल्लाका बिरामी छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा यो रोगको परीक्षण हुँदै आएको बताउनुभयो । यसमा भरतपुर अस्पतालमा भने सरकारले नै कीट उपलब्ध गराइएकाले निःशुल्क परीक्षण हुन्छ ।

चितवनका फिजिसिएन डा शीतल अधिकारीले समयमै अस्पताल आए उपचार सहज भएको जानकारी दिए ।

प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ । मानिसबाट मानिसमा रोग सर्दैन । मुसाको एक प्रकारको तरल पदार्थ खाएर माइट बस्छ । अघाएपछि माइट जातको किरा झारमा झर्छ । त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ । टाउको दुख्ने, १०४ जति ज्वरो आउने, कामज्वरो आउने, घाँटीवरिपरि मसिना बिमिरा आउने, पसिना आउने तथा ग्रन्थी सुनिने यस रोगका लक्षण हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *