अस्पतालमा आधुनिक सिटिस्क्यान ल्याउने सम्झौता

चितवन, २ असोज –  सिटी स्क्यानको अभावमा महँगो मूल्य तिर्दै आएका न्यून वर्गका बिरामीले अब भने सरकारी अस्पतालमै सिटिस्क्यानको सेवा लिन पाउने भएका छन् ।

चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटिस्क्यान मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी र हस्पिटेक इन्टरप्राइजेज प्रालिबीच उपकरण ल्याउने सम्झौता भएपछि निर्माण प्रक्रिया सुरु भएको हो ।

टेन्डर स्वीकृत भएसँगै सम्बन्धित कम्पनीसँग अस्पतालमा मेसिन ल्याएर जडान गर्ने गरी सम्झौता भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मरासिनीले जानकारी दिए । सफल हस्पिटेक इन्टरप्राइजेज प्रालिले केही महिनाभित्र अस्पतालको पुरानो अप्रेसन कक्षभित्र सिटिस्क्यान मेसिन सेटअप गरी अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ ।

सिटिस्क्यान मेसिन खरिदका लागि सरकारले ८० प्रतिशत रकम खर्च व्यहोर्ने छ भने, भरतपुर अस्पताल विकास समितिले २० प्रतिशत खर्च व्यहोर्ने छ ।

करिब रु छ करोड ५० लाखमा उपकरण खरिद गर्न लागिएको हो । भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टरसमेत सुरु भइसकेको अवस्थामा चोटपटक र दुर्घटनामा परेका घाइतेको उपचारका लागि सिटिस्क्यान मेसिन अत्यावश्यक भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *