अस्पतालबाट लिलाम गरिएका उपकरण सिलबन्दी

खोटाङ, २असोज –  जिल्ला प्रशासन कार्यालय खोटाङले अस्पतालबाट लिलाम बिक्री भएका उपकरण सिलबन्दी गरेको छ ।

मर्मत गर्दा काम लाग्नेखालका उपकरणलाई कवाडीको भाउमा लिलाम बिक्री गरिएको भन्दै विरोध सुरु भएपछि प्रशासनले राखेकै ठाउँमा पुगेर सिलबन्दी गरेको हो ।

जिल्ला अस्पतालले लिलाम गरेका ११२ थरिका उपकरण तथा सामानमध्ये प्रशासनले दिक्तेल नगरपालिका–२ का विनोद दाहालको घरमा राखिएका जेनेरेटर, फेटोकपी मेसिन, कम्प्युटर, सिपियु, फ्याक्स मेसिन, एलसिडी मनिटर, कुर्सीलगायतका २५ प्रकारका उपकरण सिलबन्दी गरेको छ ।

जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण तथा सामान २६ हजार ५०० मा लिलाम बिक्री गरेको सात महिनापछि खुलासा भएपछि सर्वत्र विरोध भइरहेको छ ।

अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौँको उपकरण न्यून मूल्यमा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाजले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण सिलबन्दी गर्नका लागि प्रशासनसमक्ष गत बुधबार ज्ञापनपत्र बुझाएको थियो । अन्य सामानका विषयमा अनुसन्धानका लागि खोज गर्दै सिलबन्दी गर्ने तयारी गरिएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए ।

अस्पतालको उपकरण लिलामका विषयमा अख्तियारले समेत चासो दिएको छ । अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक सामुदायिक अस्पतालमा उपयोगमा ल्याउन लागिएपछि अस्पतालले कम मूल्यमा उपकरण लिलाम गरेको खुलासा भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *