रगत अभाव भएपछि आकस्मिक रक्तदान
भक्तपुर, ३१ भदौ – रगतको अभाव भएपछि नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका कर्मचारीले आज रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रगतको अभाव भइरहेको जानकारी गराएपछि आकस्मिक रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी र नेपाल प्रहरी गरी ४७ जनाले रक्तदान गरेको प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले जानकारी दिए।
यहाँस्थित भक्तपुर क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र तथा भक्तपुर र काठमाडौँ तथा ललितपुरका अस्पतालका बिरामीका लागि रगतको माग बढ्दै गएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न थालिएको छ । रासस