डेङ्गु रोगको निःशुल्क परीक्षण, ५० वटा किट उपलब्ध

dangu
चितवन, २८ भदौ –  चितवनमा स्क्रब टाइफस रोगको सङ्क्रमण बढिरहेका बेला डेङ्गु रोगको समेत सङ्क्रमण हुनसक्ने आशङ्कामा निःशुल्क परीक्षणका लागि सरकारले ५० वटा डेङ्गु किट उपलब्ध गराएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा किट उपलब्ध गराइएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेले जानकारी दिए ।

स्क्रब टाइफस रोगको अवस्था अध्ययन गर्न आउनुभएका उनले डेङ्गुको किटसमेत ल्याएर भरतपुर अस्पताललाई दिएको जानकारी दिए । यसअघि २०० वटा किट स्क्रब टाइफस रोगको निःशुल्क परीक्षणका लागि सरकारले उपलब्ध गराइसकेको छ ।

“विगतका वर्षमा यो समयमा डेङ्गु बढेको पाइएको थियो, त्यसैले अहिले बेलैमा ध्यान दिँदै किट दिएका हौँ”, लामिछानेले भने, “सङ्क्रमण नफैलियोस् भनेर स्वास्थ्यकर्मीलाई समेत सचेत गराइएको छ ।” डेङ्गुको अवस्थासमेत पत्ता लगाउन किट दिइएको उनले बताए ।

उक्त किटबाट निःशुल्क परीक्षण हुन्छ । विसं २०६७ सालमा चितवनमा महामारीका रुपमा फैलिँदा डेङ्गुरोगका कारण पाँचजनाको मृत्यु भएको थियो भने ७०० भन्दा बढी बिरामी भएका थिए । सोही बेलादेखि यहाँ सरकारले डेङ्गु नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

बर्सेनि सयौँ बिरामी डेङ्गुबाट प्रभावित हुँदै आएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । उनले विभिन्न अस्पतालमा डेङ्गुको अवस्थाबारे प्रतिवेदन माग गरिएको जानकारी दिए ।

“अहिलेसम्म त्यति देखिएको छैन, अब प्रतिवेदन आएपछि अवस्थाबारे थाहा हुन्छ”, केसीले भने । गत आर्थिक वर्षमा डेङ्गु लागेर चितवनमा ८५ जना बिरामी भएको तथ्याङ्क छ । एकजनाको मृत्युसमेत भएको थियो । यही साउनमा गरिएको स्थलगत अध्ययनमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा र प्युपा प्रशस्त भेटिएकाले सचेतना अपनाउनुपर्ने देखिएको चिकित्सकले बताएका छन् ।

चिकित्सक डा.विजय पौडेलले यसको उपचार केही नभएको भन्दै चिकित्सकको निगरानीमा बस्नुपर्ने बताए । एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेबाट बच्न उनले सुझाव दिएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *