विद्यार्थीलाई ‘मास हिस्टेरिया’, अभिभावकद्धारा विद्यालयमा लामाधामी राख्न माग

खोटाङ, २८ भदौ – छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि शारदा मावि हौंचुरको पठनपाठन प्रभावित भएको हो ।

कक्षा ६ देखि माथिका छात्रामा महिनादिन अघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिए । “सुरुमा कक्षा १० मा अध्ययनरत सविना बरुवाल र रक्षा कार्कीमा उक्त लक्षण देखिएको थियो”, उनले भने, “अहिले दैनिक १२ देखि १५ जना छात्रामा देखिन्छ ।”

छात्रा बिरामी भएपछि महिनादिनदेखि पठनपाठनमा समस्या भएको विद्यालय परिवारले जनाएको छ । विद्यार्थीमा देखिएको लक्षणका बारेमा स्वास्थ्य उपचार गराउँदासमेत समाधान नभएको शिक्षकले बताएका छन् ।

छात्रा बिरामी हुने क्रम निरन्तर बढ्दै गएपछि उनीहरुका आफन्तले विद्यालयमै धामी राख्न दबाब दिने गरेको प्रअ बरुवालले बताए । उनका अनुसार अभिभावकले उक्त क्षेत्रमा तान्त्रिक शक्ति रहेको र सोही कारण छात्रा बिरामी भएको भन्दै विद्यालयमा तत्काल धामी राख्न दबाब दिने गरेका छन् ।

उक्त विद्यालयमा अध्ययन गर्ने छात्रामा यसअघि २०६०/६१ मा पनि सोही किसिमको लक्षण देखिएको विद्यालय परिवारले जनाएको छ । उस बेला छात्रामा देखिएको लक्षण केही महिनापछि आफै नियन्त्रणमा आएको थियो ।

शारदा मावि हौंचुरमा अध्ययनरत छात्रामा देखिएको लक्षण ‘मास हिस्टेरिया’ भएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए । “उनीहरुमा देखिएको समस्याप्रति डराउनु पर्दैन”, उनले भने, “सामाजिक परामर्शकर्ताबाट परामर्श पाएपछि बिस्तारै ठीक हुँदै जान्छ ।”

यसअघि जिल्लाको खार्मी, विजयखर्क, बाक्सिलालगायत गाविसका विद्यालयमा अध्ययनरत विद्यार्थीमा समेत यस प्रकारको लक्षण देखिएको थियो । ती विद्यालयमा देखिएको समस्या केही समयपछि नियन्त्रणमा आएको शिक्षकले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *