एक हजार १२७ फिजियोथेरापी सेवाबाट लाभान्वित

काठमाडौँ, २७ भदौ –  भूकम्प अतिप्रभावित जिल्लाका एक हजार १२७ जनाले फिजियोथेरापी सेवा लिएर लाभान्वित भएका छन् ।

स्वास्थ्य मन्त्रालय, अपाङ्गता रोकथाम तथा पुनःस्थापना शाखा÷कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा ह्याडिक्याप इन्टरनेसन नेपालले आज यहाँ आयोजना गरेको ‘भूकम्प अतिप्रभावित जिल्लाका पुनःस्थापनाका लागि सहयोग सेवा सिकाइ गोष्ठी’मा एक हजार १२७ ले सेवा लिएर लाभान्वित भएको बताइएको हो ।

विगत १४ महिनादेखि भूकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङका जिल्ला अस्पताल तथा दोलखास्थित जिरी अस्पताल र चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रका साथै काठमाडौँस्थित नेसनल ट्रमा सेन्टरमा फिजियोथेरापी सेवा उपलब्ध गराइएको ह्याडिक्याप इन्टरनेसनलले जनाएको छ ।

सो संस्थाले विभिन्न सात स्थानमा फिजियोथेरापी÷पुनःस्थापना एकाइको स्थापनाकालदेखि हालसम्म जम्मा चार हजार ६१७ जना चोटपटक, हिँडडुल गर्न कठिनाइ भएका र अपाङ्गता भएका व्यक्ति सेवा लिएर लाभान्वित भएको सो संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, संस्थाले चार हजार ४२८ जना बिरामी तथा तिनका एक हजार ४२८ जना सहयोगीलाई पनि बिरामीको हेरचाह तथा पुनःस्थापनाको फाइदाबारे अभिमुखीकरण गराएको छ ।

हालसम्म सात फिजियोथेरापी÷पुनःस्थापना एकाइमार्फत ५५२ थान अपाङ्गता भएका व्यक्तिलाई दैनिक जीवनयापनमा सहयोग गर्ने ह्विलचियर, वैशाखीलगायत विभिन्न सहयोगी सामग्री वितरण गरेको स्वास्थ्य सेवा विभाग तथा कुष्ठरोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा. वासुदेव पाण्डेले बताए।

उनले भूकम्पपश्चात् घाइते भएका व्यक्तिमा थप जटिलता हुन नदिन र हिँडडुल गर्न सक्षम बनाउनका लागि सञ्चालित परियोजनाअन्तर्गत फिजियोथेरापी तथा पुनःस्थापना सेवा कार्यको उपलब्धि तथा सिकाइ प्रस्तुत गर्न गोष्ठीको आयोजना गरेको जानकारी दिए।

कार्यक्रममा भूकम्पका बेला मात्र नभएर अन्य बेलामा पनि फिजियोथेरापी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र दैनिक सवारी दुर्घटनाबाट हुने घाइतेका लागि पनि सो सेवा आवश्यक रहेको बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *