स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा प्रदान

swasthya

बागलुङ, ९ भदौ –  स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वास्थ्य चौकीले जनाएको छ ।

अमरभूमि–३ का नन्दकली नाईसाले रु दुई लाख बराबरको एक रोपनी चार आना, सोही ठाउँका जनक घर्तीले रु ६० हजार बराबरको पाँच आना एक दाम, अमरभूिम–२ का मनबहादुर पुनले करिब रु एक लाख ७० हजार बराबरको एक रोपनी एक आना जग्गा प्रदान गरेका छन् ।

यस्तै, चन्द्रवीर घर्तीले रु एक लाख ६० हजार बराबरको एक रोपनी र गौरी विश्वकर्माले रु ५० हजार बराबरको ११ आना जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क दिनुभएको स्वास्थ्य चौकीका अहेव सीता थापाले जानकारी दिए।

सरकारले स्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा आवश्यक पर्ने प्रावधान ल्याएपछि नयाँ स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले जग्गा सहयोग गरेका हुन् ।

स्वास्थ्य सेवा प्रवाहमा सहजता आओस् भन्ने उद्देश्यले जग्गा निःशुल्क दिएको दाता मनबहादुर पुनले बताए। उनले स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया समेत दिए । जग्गा प्राप्तिसँगै स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ ।

जिल्लामा आव २०७१÷०७२ मा १० वटा स्वास्थ्य चौकीका नयाँ भवनको निर्माण कार्य सुरु भएको थियो । केही निर्माण सम्पन्न भएको र केही अझै निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ । यस वर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *