एक चौथाइ गर्भवती बीस वर्षमुनिका

pregnant-523193488f9ed_exl

म्याग्दी, ८ भदौ –  म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् ।

आव २०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २८६ जनाले गर्भजाँच गराएकामा ५६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले जानकारी दिइन् ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको सङ्ख्या २८।२६ प्रतिशत र २०७०/७१ मा ३२ प्रतिशत थियो । किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ ।

बीस वर्षअघि नै बच्चा जन्माउँदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए । उनका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको सङ्ख्या ५१।६० प्रतिशत छ ।

यसैगरी म्याग्दीका ६० प्रतिशत गर्भवतीले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूति गृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *