औलोबाट बचाउन कीटनाशक झूल वितरण

चितवन, २७ साउन –  औलो रोगबाट बचाउन चितवनका तीन हजार ३०३ गर्भवतीलाई कीटनाशक झूल वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका २६ वटा स्वास्थ्य संस्थामार्फत यसरी झूल वितरण गरिएको हो ।

गर्भ परीक्षणपछि सरकारी स्वास्थ्य संस्थामा दर्ता भएका गर्भवतीलाई जनस्वास्थ्य मार्फत झूल वितरण गरिएको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । उनका अनुसार सरकारी नीतिअनुसार गर्भवतीको सुरक्षाका लागि झूल वितरण गरिएको हो ।

पश्चिम चितवनको मेघौली, दिब्यनगर, शुक्रनगर, गुञ्जानगर, शारदानगर, मङ्गलपुर, फूलबारी शिवनगर, पार्वतीपुर, गीतानगर, पटिहानी क्षेत्रका गर्भवतीलाई झूल दिइएको हो ।

यस्तै पूर्वी चितवनका खैरहनी, कुमरोज, कठार, पिठ्वा, रत्ननगर, जुटपानी, शक्तिखोर, पद्मपुर र सिद्धिमा समेत झूल वितरण गरिएको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए ।

उनका अनुसार भरतपुर उपमहानगर र दक्षिण चितवनको माडीका विभिन्न क्षेत्रमा समेत गर्भवतीलाई झूल बाँडिएको छ । भरतपुरमा सबैभन्दा बढी ३०३ र रत्ननगरमा २०६ जना गर्भवतीलाई झूल दिइएको छ ।

मुख्यगरी औलोबाट बचाउने कार्यक्रम हो, तर झूलले लामखुट्टेबाट हुने सबै रोगलाई रोकथाम गर्छ ,शर्माले भन्नुभयो । अघिल्लो वर्ष तीन हजार ६४४ गर्भवतीलाई झूल वितरण भएको थियो ।

चितवनमा अघिल्लो वर्ष ३१ जना औलोका बिरामी भेटिएकोमा गएको आर्थिक वर्षमा १५ जना भेटिएका छन् । सरकारले सन् २०२६ सम्ममा औलो निवारण गर्ने लक्ष्यसहितका लागि कार्यक्रम चलाउँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *