किन हुन्छ घाँटीमा अप्ठ्यारो ? समाधानका लागि के गर्ने ?

घाँटीमा समस्या हुँदा खाना खान मात्र हैन, श्वास फेर्न पनि अप्ठ्यारो महसुस हुन्छ । मानिसको संवेदनशील अंग घाँटीमार्फत नै खानानली, श्वासनली शरीरमा जान्छ । घाँटीमा अप्ठ्यारो हुने विभिन्न कारणका विषयमा वीर अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ प्रा.डा. लालकिशोर यादवले यस्तो बताएका छन् :

tonsil1

टन्सिलको संक्रमण : मानिसलाई टन्सिल विभिन्न कारणले हुन्छ । कसैलाई धेरै चिसो खानेकुरा खाँदा हुन्छ भने कसैलाई अमिलो पिरोले पनि गराउँछ । साथै, एलर्जीको कारण पनि हुन्छ । एक–दुईपटक मात्र टन्सिलको समस्या देखिएको छ भने चिकित्सकको सल्लाह लिएर घरमै सामान्य एन्टिबायोटिक खाँदा हुन्छ ।

तर, खाना निल्न र श्वास फेर्न नै गाह्रो छ भने अस्पतालमा बसेर इन्जेक्सनबाट औषधि लगाउनुपर्ने हुन्छ । जटिल खालको र धेरैपटक दोहोरिएको हो भने वा दुई वर्षदेखि पटक–पटक देखिइरहेको छ भने अपरेसन गरेर टन्सिल निकाल्नु राम्रो हुन्छ । त्यसरी निकालिसकेपछि पुन: टन्सिल हुने सम्भावना हँुदैन । अन्य कारणले पनि घाँटी दुख्नसक्छ ।

टन्सिल निकालेपछि अन्य कुरालाई असर पर्दैन । कतिपय मानिस स्वर भासिन्छ भन्छन्, तर त्यो सत्य होइन । टन्सिल बिग्रिएर भासिएको स्वर निको भएपछि आफैँ ठीक हुन्छ ।

स्वर भासिने समस्या : मानिसको भोकल कडमा विभिन्न संक्रमणका कारण पनि स्वर भासिन सक्छ । इन्फेक्सनले भोकल कडलाई बाक्लो बनाइदिन्छ र स्वर भासिन्छ । त्यो संक्रमण हटेपछि आफैँ निको हुन्छ । चिकित्सकको सल्लाहमा एन्टिबायोटिक लिनुपर्छ ।
अर्को ठूलो समस्या भनेको भोकल कडमा क्यान्सर वा अन्य ट्युमर (मासुको डल्ला) पलाउने हो । ट्युमर भए शल्यक्रिया गरी फाल्नुपर्छ । यदि क्यान्सर नै भइसकेको अवस्था हो भने त्यसको उपचार गर्नुपर्छ ।

हड्डी अड्किएर हुने समस्या : घाँटीमा हड्डी अड्किएर आउने समस्या पनि एक हो । यसमा हामीले खाना खाँदा विचार पुर्‍याउनुपर्छ । सामान्य माछाको काँडा अड्किएको छ भने त्यो माथिल्लो भागमा नै हुन्छ । यसको उपचार बेहोस नबनाई गर्न सकिन्छ । कुखुरा वा खसीको हड्डी खानानलीमा गएर अड्किएको छ भने त्यसलाई बेहोस बनाएर नै निकाल्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा
– इन्फेक्सनबाट जोगिन धुलोधुवाँ र चिसोबाट बच्ने ।
– कान कोट्याउने, चलाउने गर्नु हुँदैन ।
– झोल चिज जथाभावी विनाकारण कानमा लगाउनु हुँदैन ।
– धुम्रपान गर्नु हुँदैन ।
– धेरै चिसो कुरा सेवन गर्नु हुँदैन ।
– सफा पानीलाई उमालेर बाफ लिनुपर्छ ।
– खैनी, पानपराग, गुड्खा नखाने, मद्यपान नगर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *