पर्वतमा रक्तसञ्चार केन्द्र स्थापना

पर्वत २२ साउन – जिल्ला सदरमुकाम कुस्माबजारमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतले जिल्लामै पहिलो पटक शुक्रबारदेखि रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हो ।

रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै रक्तसञ्चार सेवा केन्द्र स्थापना गरेको हो । अहिलेसम्म रक्तसञ्चार केन्द्रको अभावमा पर्वतलगायत धौलागिरि अञ्चलकै बासिन्दा सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि पोखरा ठमाडौँसम्म जानुपर्ने बाध्यता थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्र र नेपाल सरकार स्वास्थ्य सेवा विभागको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो । आर्थिक अभाव र प्राविधिक समस्याका कारण जिल्लामा लामो समयदेखि रक्तसञ्चार केन्द्र स्थापनामा आउन सकेको थिएन ।

उक्त केन्द्र स्थापना गर्न तत्काल रु २२ लाख खर्च भएको रेडक्रस सोसाइटी कुश्मा शाखा सभापति रुद्रबहादुर रिमालले जानकारी दिए। केन्द्रमा १०० युनिट रगत भण्डारण गर्न सकिने क्षमता रहेको रिमालले जानकारी दिए।

उक्त केन्द्रको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले अब प्रत्येक जिल्ल्लामा एक एकवटा रक्तसञ्चार केन्द्रको व्यवस्था राज्यले गर्नुपर्ने बताए  । उनले  जुनसुकै बिरामीलाई जुनसुकै बेला पनि रगत अत्यावश्यक हुने भएकाले सरकारले आम जनताको पहुँचसम्म पुग्नेगरी स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए।

पर्वत जिल्ला अस्पतालमा शल्यक्रिया सुरु गरेको पर्सिपल्टै जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना भएपछि सहज भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिए । सो अवसरमा रक्तादान कार्यक्रम पनि सम्पन्न भएको छ ।

शुक्रबारदेखि स्थानीय अस्पतालमा आउने बिरामीलाई आवश्यक परेको खण्डमा रगत उपलब्ध गराउने उद्देश्यले रगत सङ्कलन पनि गरिसकिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले रक्तदान गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *