स्वास्थ्य संस्थामा मौसमी ज्वरोका बिरामीको चाप
धनगढी, २१ साउन – गत एक हप्तादेखि मौसमी ज्वरोको सङ्क्रमण बढेपछि कैलाली जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।
मौसमी ज्वरोका विरामीको चाप बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको सहज उपचारमा समेत केही कठिनाई उत्पन्न हुने गरेको छ । सेती अञ्चल अस्पताल धनगढीका चिकित्सक विएस बोहराले अहिलेको समयमा भाइरस बढी सक्रिय हुने भएकाले मौसमी ज्वरोको सङ्क्रमण बढ्ने गरेको बताए ।
हाल सेती अञ्चल अस्पतालमा मौसमी ज्वरोबाट सङ्क्रमित दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारार्थ आउने गरेको डा बोहराले जानकारी दिए । निजी स्वास्थ्य क्लिनिकमा अञ्चल अस्पतालमा भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको ती संस्थाले बताएका छन् ।
सरुवा रोग लागेपछि रुघाखोकी हुने, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् ।
बालबालिका यो रोगबाट बढी प्रभावित भएका छन् । यो रोग लागेमा शीतल ठाउँमा आराम गर्नुपर्ने, झोलयुक्त पदार्थ प्रशस्त मात्रामा खानुपर्ने, उमालेको पानी पिउनुपर्ने र समयमै स्वास्थ्य जाँच गराउनुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ । – रासस
सम्पर्क इमेल : [email protected]