बाढीपीडितलाई निःशुल्क स्वास्थ्य शिविर
राजविराज, २१ साउन – बाढीपीडितलाई लक्षित गरी जिल्लाका तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लब, लालापट्टि, सप्तरीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा हेल्प लाइन नेटवर्क काठमाडौँ र मेडिकेयर तथा ओम हस्पिटल काठमाडौँका १२ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सो स्वास्थ्य शिविरमा सेवा प्रदान गरिरहेको बताइएको छ ।
रुघाखोकी, पखाला, ज्वरो र टाइफाइडजस्ता रोगबाट कष्टकर जीवन बिताउँदै आएका बाढीपीडितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डाक्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेको धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए ।
विहिबारदेखि तीन दिनसम्म चल्ने सो शिविरमा स्वास्थ्य सेवाका साथै औषधि र साबुनसमेत निःशुल्क उपलब्ध गराइने बताइएको छ । एक साताअगाडि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले सप्तरीको रम्पुरा मल्हनिया, तिलाठी, सकरपुरा, कोइलाडी मधेपुरा, कोइलाडी बर्साइन, लौनिया, हनुमाननगर, भारदह लगायतको दर्जनौँ गाविस बाढीबाट प्रभावित भएका थिए ।
सो बाढीको पानी दूषित भएर अधिकांश ठाउँमा बिरामी परेपछि उनीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिएको क्लबका अध्यक्ष यादवले बताए । – रासस
सम्पर्क इमेल : [email protected]