मुस्ताङ जिल्ला अस्पतालमा डिजिटल एक्स–रे मेसिन

मुस्ताङ, २१ साउन –  जिल्ला अस्पताल मुस्ताङमा डिजिटल एक्स–रे मेसिन जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको दुई लाख ९८ हजार रुपैयाँको सहयोगमा आधुनिक एक्स–रे मेसिन जडान गरिएको हो ।

बिरामीलाई छिटो र छरितो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लामो समयको प्रयासपछि एक्स–रे मेसिन जडान गरिएको अस्पतालका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।

“अस्पतालमा रहेको १८ वर्ष पुरानो मेसिनले राम्रोसँग काम गर्न सकेको थिएन, नयाँ मेसिन जडानपछि सेवा पनि गुणस्तरीय हुने आशा गरेका छौँ”, उनले भने। अस्पतालमा स्वास्थ्य विभागबाटै डिजिटल अक्सिजन कन्सन्टे«टर, अक्सिजन तह नाप्ने यन्त्र र १० वटा फोल्डिङ बेड प्राप्त भएको अस्पतालले जनाएको छ । मुस्ताङमा अक्सिजन मेसिन भने पहिलोपटक राखिएको हो । खासगरी चिसो मौसममा यसको प्रयोग धेरै हुने बताइएको छ ।

अस्पतालमा उपकरण थप गरिएसँगै अन्तरङ्ग, बहिरङ्ग विभाग, सोधपुछ र औषधि वितरण कक्षलाई व्यवस्थित गरिएको अस्पतालले जनाएको छ । दुईजना डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले पाँचजना डाक्टरले निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकाछन् ।

“दैनिक ४० जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्, अब धेरै हुने अनुमान छ”, प्रमुख ज्ञवालीले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *