बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन

0
Shares

लहान, १६ साउन – बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।

केही दिनअघिको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेको सप्तरीको सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँलगायतका गाविसमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले बताए।

बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण बढेर महामारी फैलिन सक्ने भएकाले बिरामीको उपचार तथा महामारी फैलिन नदिन आवश्यक निगरानीका लागि बाढी प्रभावित स्थानमा स्वास्थ्यकर्मी खटाइएको हो ।

बाढी प्रभावित स्थानमा फाटफुट रुपमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिए पनि प्रभावित क्षेत्रमा अहिले महामारी नै फैलिने अवस्था नरहेकाले औषधिसहित एक–दुई जना स्वास्थ्यकर्मी प्रत्येक प्रभावित स्थानमा परिचालन गरिएको जानकारी दिँदै प्रमुख झाले प्रभावित क्षेत्रमा महामारीको अवस्था आउन नदिन आवश्यक सतर्कतासमेत अपनाइएको बताए ।

बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेका छन् । केही दिनअघि स्वास्थ्य मन्त्रालयले बाढीपीडित क्षेत्रमा महामारी फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको थियो ।।यता बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई विभिन्न सामाजिक सङ्घसंस्थाले राहत वितरण गर्दै आएका छन् ।

एक सातादेखिको अविरल वर्षासँगै जिल्लाको खाँडो, महुली, जितालगायतका नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडीलगायत गाविसका दुई हजारभन्दा बढी घर डुबानमा परेका थिए । केही दिनदेखि वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थालेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *