परिवार नियोजन प्रति महिला जागरण

नेपालगन्ज, ९ साउन –  बाँके जिल्लाका मधेसी तथा मुस्लिम समुदायका महिलासमेत अहिले प्रजनन स्वास्थ्य तथा परिवार नियोजनको अभियानमा सक्रिय भएका छन् ।

रुढीवादी मान्यताका कारण परिवार नियोजन तथा प्रजनन स्वास्थ्यको कुरा सुन्नसमेत लाज मान्ने सो समुदायका महिला सामाजिक संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रममा सहभागी हुन थालेपछि उनीहरुमा विस्तारै त्यसप्रति जागरुकता बढ्दै गएको हो ।

तीन वर्षअघि परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अनभिज्ञ बाँके जिल्ला जयसपुर गाविसका मुस्लिम महिला परिवार नियोजन सङ्घको कार्यक्रममा सहभागी उनीहरुमा प्रजनन स्वास्थ्यप्रति विस्तारै जागरण आउन थालेको छ ।

त्यस गाउँका महिलामा अहिले धेरै सन्तान पाउन हुन्न, सुखी परिवार कसरी बनाउने, परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा समुदायलाई जागरुक गराउने अभियानमा लाग्नुलाई महिलामा आएको असाधारण परिवर्तन भन्न थालिएको छ ।

त्यसैगरी, घर बाहिर निस्कँदा आफ्नो परिचय दिन लाज मान्ने, मुख ढाक्ने, कसैसँग बोल्नसमेत अप्ठेरो मान्ने मनिकापुर गाविसका मधेसी समुदायका महिला पनि परिवार नियोजन सङ्घको कार्यक्रममा सहभागी भएपछि अहिले परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यको अभियानमा थुप्रै मधेसी तथा मुस्लिम महिलालाई साथ लिएर गाउँमा जागरण पैmलाउन सक्रिय भएको पाइन्छ ।

केही समयअघिसम्म पटक पटक बोलाए पनि स्वास्थ्य चौकीमा नआउने मुस्लिम तथा मधेसी समुदायका महिला अहिले तल्लो पेट दुख्ने, आङ खस्ने, गर्भ रोक्नेलगायत परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीमा आउने गर्छन् ।

परिवार नियोजन सङ्घ, बाँकेका प्रमुख अनिल बस्नेतका अनुसार यस जिल्लामा हाल नियमित अस्थायी परिवार नियोजनका साधन प्रयोग गरिरहेका सरदर १३ हजार २४० महिला, पुरुषमध्ये महिलाको सङ्ख्या ८० प्रतिशत रहेको छ । यस तथ्याङ्कले महिला परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अत्यन्त सचेत रहेको देखाउँछ ।

सो कार्यालयका अनुसार गत आवमा बाँकेमा स्थायी परिवार नियोजन सेवा लिएका ६५३ जनामध्ये मिनिल्याप गर्ने महिलाको सङ्ख्या ४८० छ भने १७३ पुरुषले मात्र स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरेका तथ्याङ्कले देखाएको छ ।

-रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *