दश गाविस पूर्ण खोपयुक्त
जाजरकोट, ६ साउन – यहाँका १० गाविस पूर्ण खोपयुक्त घोषित भएका छन् ।दश गाविसमा दुई वर्षदेखि नियमित रुपमा सबै बालबालिकालाई खोप लगाउने गरिएकाकारण पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो ।
दुई वर्षसम्मका बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिकाले १० वटै खोप नछुटाइ लगाएको पाइएपछि जिल्ला खोप समन्वय समितिको सिफारिसमा गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने प्रावधान रहेको छ ।
त्यही अनुसार सबै मापदण्ड पूरा भएपछि १० गाविसलाई पूर्णखोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जिसीले बताए ।
जिल्लाका पैक, जगतीपुर, साल्मा, दशेरा, अर्छानी, लहँ, ढिमे, झाप्रा, टालेगाउँ, सुवानाउली गाविसका दुई हजार ७१२ बालबालिकाले १० वटै खोप लगाएका छन् ।
अरू गाविसलाई पनि क्रमशः पूर्ण खोपयुक्त गाविस घोषणा गरिने प्रमुख जिसीले बताए । रग्दा, भगवती, कार्कीगाउँ, डाँडागाउँ, सक्ला, रामीडाँडा, भूरसहितका गाविसलाई चाँडै नै पूर्ण खोपयुक्त घोषणा गरिने उनले बताए । रासस
सम्पर्क इमेल : [email protected]