उपचारको ऋण तिर्न सामुदायिक वनको सहयोग

0
Shares

कञ्चनपुर, ४ साउन – बाख्राको मासु खाँदा बिरामी भई उपचार गराएर घर फर्केका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ का स्थानीयलाई बैजनाथ सामुदायिक वनले उपचार खर्च उपलब्ध गराएको छ ।

उपचार गराउँदा लागेको ऋण तिर्नका लागि सामुदायिक वनले ३५ जनालाई रु दुई हजारका दरले आर्थिक सहयोग रकम प्रदान गरेको हो । “उपचारमा लागेको ऋण तिर्नका लागि रु ७० हजार सहयोग रकम प्रदान गरेका छौँ” सामुदायिक वनका अध्यक्ष बहादुर महराले भने ।

गत महिना छिमेकीको मरेको बाख्रा सित्तैमा बाँडेर खाँदा यहाँका ३५ जना बिरामी भएका थिए । बिरामीमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेका कारण ऋण लिएर उपचार गराएका थिए ।

सहयोग रकमले ऋण तिर्नका लागि केही सहज हुने अध्यक्ष महराले बताए । नगरपालिका कार्यालयसँग समेत उपचार खर्च उपलब्ध गराउन माग गर्दा बेवास्ता भएपछि बिरामीले सामुदायिक वनका पदाधिकारीलाई भेटेर रकम उपलब्ध गराउन आग्रह गरेका थिए ।

मानवीय नाताले बिरामीलाई रकम उपलब्ध गराइएको अध्यक्ष महराको भनाइ रहेको छ । सामुदायिक वनले घाँस, काठ, दाउरा बिक्री गरी आम्दानी गर्दै आएको छ ।

आम्दानीको रकम सडकमा ग्राभेल राख्न, विद्यालय भवन निर्माण गर्न र तटबन्ध निर्माणका लागि खर्च गरिँदै आएको छ ।

– रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *