डा. केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति

काठमाडौँ, ३ साउन –  स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न माग राखी सुरु भएको डा गोविन्द केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घले असहमति जनाएको छ ।

सङ्घका अध्यक्ष डा. सञ्जीव झाले आज एक विज्ञप्ति जारी गरी डा केसीले स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयका साथै राजनीतिक माग समेत राखेको भन्दै त्यसप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

डा. केसी स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विगतमा सरकारसँग भएका सम्झौताको कार्यान्वयन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग समेत राखेर विगत नौ दिनदेखि आमरण अनशनमा छन् ।

“डा. केसीले चिकित्सा क्षेत्रको सुधारको मागको आवरणमा पटक–पटक अनशन बसिरहँदा र राज्यलाई अवाञ्छित दबाब दिइरहँदा मुलुकको स्वास्थ्य क्षेत्र बदनाम, प्रतिष्ठाहीन र धराशायी बन्दै गएको निष्कर्ष यस संस्थाको रहेको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

सरोकार नभएका क्षेत्र समेतलाई मुछि समग्र राज्य व्यवस्थालाई बन्धक बनाउने प्रकृतिका माग राखी सुरु गरिएको अनशनप्रति सङ्घले असहमति जनाएको छ । डा. केसीको अनशनप्रति स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र पक्ष र विपक्षमा विभाजित बन्दै गएको छ ।

  • रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *