जुम्लामा एकीकृत घुम्ती शिविर सेवा सम्पन्न

जुम्ला, २३ असार – यहाँको पातारासी गाविसको तल्फीगाउँमा दुईदिने एकीकृत घुम्ती शिविर सेवा सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपानेको नेतृत्वमा गएको टोलीले शिविर सञ्चालन गरेको थियो ।

सदरमुकाम जुम्ला खलङ्गासम्म सहज पहुँच नभएका पातारासी, छुमचौर गाविसलाई सेवा पुग्नेगरी तल्फीगाउँ शिविर सञ्चालन गरिएको हो । शिविरबाट एक हजार ९०० स्थानीयवासीले विभिन्न सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए । शिविरमा ७०० जनाले स्वास्थ्य सेवा लिएका छन् । त्यसमा नागरिकता २६० जनालाई प्रदान गरिएको उनको भनाइ छ । साथै नौ जनाले अपाङ्ग परिचयपत्र प्राप्त गरेको जनाइएको छ ।

त्यसैगरी, जिल्ला पशु तथा कृषि विकास कार्यालय जुम्लाले आफ्ना सेवा केन्द्रमार्फत ६७१ जनालाई आवश्यक बीउ तथा औषधि वितरण गरेको छ । जिल्ला मालपोत कार्यालयद्वारा १५ जग्गाधनीको जग्गाको मोठ कायम गरेको छ । यता नेपाली सेनाले माइन जोखिम शिक्षाद्वारा स्थानीय नागरिकलाई जनचेतना जगाएको प्रमुख सेनानी सुशीलकुमार थापाले जानकारी दिए । प्रमुख सेनानी थापाका अनुसार सेनाले मेडिकल सेवा प्रवाह गरेको छ ।

उक्त शिविरमा जिल्ला शिक्षा कार्यालय, भू–संरक्षण, जल उत्पन्न प्रकोप, जिल्ला वन, वनस्पति, महिला तथा बालबालिका कार्यालय, अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र, नेपाली सेना, नेपाल प्रहरीलगायतले आ–आफ्नो क्षेत्रबाट स्थानीय आवश्यक सेवा प्रवाह गरेका थिए । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *