नक्कली प्रमाणपत्रको आरोपमा चितवनबाट पक्राउ परेका तीन चिकित्सक मध्ये एक रिहा
चितवन, २०असार – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्ययन गरेको अभियोगमा यहाँ पक्राउ परेका तीनजना चिकित्सकको थुनछेक आदेश भएको छ ।
सरकारी जागिरे भएकाले दुई जनालाई अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको जिम्मा लगाइएको छ भने एकजना धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला अदालत चितवनले दिएको जानकारीअनुसार सुनिल आचार्य र रजनी अग्रवाललाई रु एक/एक लाख धरौटी माग गरिएको छ भने राजन पुरीलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ । आचार्य र अग्रवाल सरकारी जागिरे भएकाले उनीहरुमाथि अख्तियारको अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखिएको हो ।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार आचार्यसँग रु २७ लाख, अग्रवालसँग रु १४ लाख र पुरीसँग रु तीन लाख ८५ हजार ५०० बिगो दाबी गरिएको छ ।आइतबार पेस भएको सो मुद्दाका प्रतिवादीसँगको बयान समाप्त गरी आइतबार साँझ ७:३० बजे मुद्दाको थुनछेक आदेश भएको हो ।
मुद्दाको थुनछेक आइतबार नै सक्नका लागि तीनजना न्यायाधीशको इजलाशमा मुद्दा बाँडफाँड गरिएको थियो । पक्राउ परेका तीनै जनालाई सरकारवादी ठगी मुद्दा बमोजिम पाँच वर्षसम्म कैद, बिगो र बिगो बमोजिमको जरिवानासम्मको कारबाही हुनसक्ने व्यवस्था छ ।
उनीहरुलाई गत असार ३ गते जिल्लाबाटै पक्राउ गरिएको थियो । रासस
सम्पर्क इमेल : [email protected]