डाक्टरले मागे जति तलब दिन नसक्दा प्रसूति सेवा बन्द

भोजपुर, १५ असार  – डाक्टरले मागे जति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ ।

मासिक दुई लाख रुपैयाँ दिने सर्तमा ल्याइएका डाक्टर सुनिल शाहले थप रु ५० हजार मागेपछि अस्पतालले दिन नसक्दा सेवा नै बन्द गर्नु परेको हो । गत वर्षको मङ्सिरमा नियुक्त गरिएका डाक्टर शाहले वैशाखदेखि काम छोडेर गएका हुन् । डाक्टरले काम छाडेर गएपछि जिल्ला अस्पतालले शल्यक्रिया सहितको गम्भीर प्रकृतिको प्रसूति गराउन नसकेको बताएको छ ।

डाक्टर शाहले आफू कामका लागि आएको र पैसाको मुख नहेर्ने सार्वजनिक कार्यक्रममा भनेका थिए तर नियुक्ति भएको सात महिना पूरा नभई काम छाडेर गइदिँदा सेवाग्राही मारमा परेका छन् । महिनामा ५०÷६० जनासम्म प्रसूति गराउने सो जिल्ला अस्पताल भोजपुरमा दुुईदेखि तीनजनाको शल्यक्रियाद्वारा प्रसूति गराउनुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए।

जिल्लामा रहेको प्रसूति सेवा बन्द भएपछि उपचारका लागि अन्यत्र रिफर गराउने गरेको प्रमुख झाको भनाइ छ । यसैबीच, बर्सातको कारण समयमा हवाई उडान नहुँदा र लेगुवा–भोजपुर सडक बर्सात र निर्माणकार्यका कारण अवरुद्ध भएपछि बिरामी तथा बिरामीका आफन्त दोहोरो मारमा परेका छन् । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *