डेङ्गु रोकथामका लागि चेतनामूलक कार्यक्रम
धनगढी, १४ असार – कैलालीको अत्तरिया नगर क्षेत्रमा डेङ्गु रोग रोकथामका लागि लामखुट्टेको लार्भा खोजी गरी नष्ट पार्ने चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले यसवर्ष अत्तरिया क्षेत्रमा दुईजना डेङ्गुका रोगी फेला परेपछि रोकथामका लागि यो कार्यक्रम गरिएको बताए ।
केही दिनसम्म सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत लामखट्टेले लार्भा पार्नसक्ने पानी भरिएका ग्यालिन, प्लास्टिकका भाँडाकुँडा, गाडीका पुराना टायर, फूलका गमला लगायतका भाँडामा धेरै दिनसम्म पानी नभरिने गरी सरसफाइमा राख्न चेतना अभिवृद्धि गर्न थालिएको छ ।
यस्तै, अभिमुखिकीकरण गोष्ठी मार्फत डेङ्गु रोग र यसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धि गराइएको छ । कार्यक्रम अन्तर्गत सोमबार अत्तरिया बजारमा डेङ्गु रोग रोकथामसम्बन्धी चेतनामूलक ¥याली गरिएको थियो ।
एडेस जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग लाग्ने गर्दछ । यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, शरीरमा बिमिरा देखिने र समयमै उपचार हुन नसकेमा बिरामीको मृत्यु समेत हुने गर्दछ ।
यसवर्ष कैलाली जिल्लामा यो रोग लागेका चार बिरामी सेती अञ्चल अस्पताल धनगढीमा उपचारार्थ आएको भट्टले बताए।
हरेक वर्ष साउन, भदौ र असोजमा यो रोगको समस्या बढी देखिने गरेको बताइएको छ । रासस
सम्पर्क इमेल : [email protected]