सीटीइभीटीको स्वास्थ्य विषय पढ्न एसएलसीमा ‘सी’ ग्रेड अनिवार्य
भक्तपुुर, ४ असार – प्रवेशिका परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ वा सोभन्दा बढी ग्रेड प्राप्त गरी समग्रमा कम्तीमा स्तरीकृत अङ्क औसत २.० ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने भएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा स्वास्थ्यतर्फको विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो ।
सिटीइभिटीका सदस्य सचिव डा.रामहरि लामिछानेले भने, “अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणी आएको छ भने त्यस्ता विद्यार्थीलाई स्वास्थ्यतर्फको विषय अध्ययन गर्न प्रवेश परीक्षामा सहभागी गराउने व्यवस्था गरेका छौँ ।”
सिटीइभिटीले आफ्नो आङ्गिक र सम्बन्धन प्राप्त संस्थामा स्वास्थ्यतर्फका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए), मेडिकल ल्याब टेक्नोलोजी, फार्मेसी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल, आयुर्वेद, होमियोप्याथी लगायत विषयमा प्रवेश परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।
सिटीइभिटीका प्रशासन प्रमुख रमेश बखतीले प्रवेशिका परीक्षामा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ तर अन्य विषयमा ‘डी’ र ‘इ’ आएको छ भने पनि स्वास्थ्य बाहेकका अन्य कार्यक्रममा अध्ययन गर्न पाउने व्यवस्था गरिएको बताए ।
बाली विज्ञान, पशु विज्ञान, डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी, डिप्लोमा इन फरेस्ट्री, होटल म्यानेज्मेन्ट, सिभिल इन्जिनियरिङ, सर्भे, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, आर्किटेक्चर इन्जिनियरिङ, अटोमेकानिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ लगायत विषयमा अध्ययन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ थियो ।
प्रवेशिका परीक्षामा समग्रमा ‘डी’ र ‘इ’ श्रेणी ल्याउने विद्यार्थीले पनि प्राविधिक एसएलसी अर्थात् टिएसएलसी अध्ययन गर्न पाउने व्यवस्था सिटिइभिटीले गरेको छ । सिटीइभिटीले प्राविधिक एसएलसी अर्थात् टिएसएलसीमा भने सबै ग्रेडका विद्यार्थीले अध्ययन गर्न पाउने व्यवस्था गरेको जानकारी दिँदै बखतीले हाल कायम रहेको १५, १८ र २९ महिने टिएसएलसी कार्यक्रमलाई १८ महिने बनाइने बताए ।
सोह्र वर्ष उमेर पुगेका लेखपढ गर्न सक्नेका लागि एक वर्ष अवधिका विभिन्न पेसा वा व्यवसायसँग सम्बन्धित रोजगारमूलक तालिम कार्यक्रमको पाठ्यक्रम बनाएर लागू गरिने भएको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




