अस्पताल अनुदानका लागि निवेदन नै परेन

mohp

काठमाडौँ (२७ बैशाख)- अस्पतालका लागि अनुदानको सूचना निकाले लगत्तै पाइला राख्नै नसकिने गरि भिड हुने स्वास्थ्य मन्त्रालयमा यसपटक भने सुनसान देखिएको छ । पन्ध्रदिनको म्याद राखि निकालिएको सूचना १० दिन बितिसक्दा समेत एउटा पनि निवेदन परेको छैन् ।

मन्त्रालयले गत १७ बैशाखमा १५ दिनको म्याद राखी अनुदानका लागि निवेदन दर्ता गराउन सूचना निकालेको थियो । मन्त्रालयका अधिकारीहरुले यसपटक अनुदानका लागि मापदण्ड आएकोले निवेदनमा ढिलाई हुनसक्ने बताउछन् ।

‘अघिल्ला बर्षहरुमा नेताका नाम खोलिएका जस्ता सुकै अस्पतालले अनुदान लैजान्थे, पहुँचका आधारमा अनुदान वितरण हुन्थ्यो तर यसपटक अनुदान मापदण्ड निर्देशिका आएको छ । त्यसले उपत्यकाका सबैखाले अस्पताल, नेताका नामका अस्तपाल वा पहुँचका आधारमा लैजाने परिपाटीलाई पूर्णरुपमा निशेध गरेको छ,’ मन्त्रालयका अधिकारीहरुले भने ।

हुनपनि निर्देशिकाले यसपटक काठमाडौँ उपत्यकामा बाहिरका सामुदायिक अस्पतालका लागि मात्रै अनुदान दिन मिल्ने व्यवस्था गरेको छ । उपत्यका भित्रका सामुदायिक अस्पतालले पनि अनुदान लैजान पाउदैनन् । अनुदान कति पाउने भन्ने बारेमा पनि निर्देशिकामा मूल्यांकन विधि तोकिएको छ । त्यसैले निवेदकले आफूले नै कति रकम प्राप्त गर्छु भन्ने अनुमान गर्न सक्छ ।

मन्त्रालयका उपसचिव लिलाराज पौडेलले अझै केही दिन बाँकी रहेकोले मापदण्ड अनुसारका निवेदन आउनसक्ने बताए । यद्धपी उनले अघिल्ला बर्षभन्दा धेरै कम निवेदन पर्ने ठोकुवा गरे । ‘यसपटक निर्देशिका अनुसार परेका निवेदनमा मात्रै सुनुवाई हुन्छ । निवेदनका लागि पनि निश्चत डकुमेन्ट चाहिन्छ । त्यति सजिलो छैन् । त्यसैले निवेदन आउन ढिलाई भएको होला’ उनले भने।

मन्त्रालयले यसबर्ष सामुदायिक अस्पतालका लागि अनुदान दिन करीब ५० करोड रकम छुट्याएको छ । निर्देशिकाले यसबर्षका अनुदान एकमुष्ट रुपमा वितरण गर्ने स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *