कडा टिप्पणी सुनेपछि क्षेत्रीय निर्देशकहरुलाई ‘एसी’वाला गाडी अफर !

r1

काठमाडौँ – स्वास्थ्य मन्त्री रामजनम चौधरीले पाँचवटै विकास क्षेत्रका प्रमुखहरुलाई एसीवाला गाडी किनिदिने उदघोष गरेका छन् । उनले जिल्लाका प्रमुखहरुलाई नयाँ पिकअप गाडीको व्यवस्था गरिदिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको चार दिने  बार्षिक प्रगति समिक्षा बैठकको समापन गर्न आइतबार स्टाफकलेज पुगेका मन्त्री चौधरीमाथि एक जना क्षेत्रीय निर्देशकले कडा टिप्पणी गरेपछि जवाफमा  यस्तो प्रस्ताव  गरेका हुन् । समापन कार्यक्रममा क्षेत्रीय निर्देशकहरुको तर्फबाट मन्तव्य दिन उभिएका सुदुर पश्चिमका क्षेत्रीय निर्देशक डा सुशील प्याकुरेलले घुमाउरो पारामा मन्त्री असफल भएको टिप्पणी गरेका थिए ।

उनले मन्त्रालयका विशिष्ठ पदाधिकारीहरुनै नभएको यसपटकको समिक्षा बैठक अहिलेसम्मकै खल्लो भएको बताएका थिए । डा प्याकुरेलले मन्त्री तथा सचिवलाई संकेत गर्दै ‘यसपटकको समिक्षाको दृश्यले  स्वास्थ्यमा सही व्यक्ति सहि ठाँउमा भएको हो कि भन्ने जस्तो देखिएको  छ मन्त्री ज्यू’ भनेका थिए ।

उनको टिप्पणीको तर्कसंगत प्रतिवाद गर्न नसकेका मन्त्री चौधरीले क्षेत्रीय निर्देशकलाई एसीवाला गाडीको अफर गरेका हुन् । यसअघि मन्त्री चौधरीले प्याकुरेलको नामै तोकेर पूर्वाञ्चलको क्षेत्रीय अस्पतालमा रहँदा ट्वाइलेट फोहोरो गराएको भन्दै सुदुरपश्चिममा त्यस्तो गर्न नपाइने भन्दै हलुका र स्तरहीन टिप्पणी गरेका थिए ।

r

करीब ४५ मिनेट लामो भाषणमा सुरुको १२ मिनेट मन्त्रालयको ट्वाइलेट र आफ्नो घरको ट्वाइलेटको बारेमा खर्च गरेका मन्त्री चौधरीले दोस्रो चरणको ११ मिनेट क्षेत्रीय निर्देशक, जिल्ला प्रमुख र मन्त्रालय तथा विभागका पदाधिकारीहरुको गाडी सुविधाका बारेमै भाषण केन्द्रीत गरेका थिए ।

नीतिगत विषयमा खासै नबोलेका मन्त्री चौधरीले मन्त्रालयको नयाँ लक्ष्य वा उदेश्यको बारेमा केही बोल्न सकेनन् । यद्धपी सचिव र महानिर्देशकलाई भावि योजना बारेमा डिटेलमा विवरण बनाएर बुझाउनुस भन्दै निर्देशन दिए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले आफू नीतिगत विषयमा मात्रै बोल्ने भन्दै क्षेत्रीय निर्देशकको प्रश्न उत्तर दिनबाट पन्छिए । उनले सुरुको समय भूकम्पले स्वास्थ्य क्षेत्रमा पारेको असर र पुर्ननिर्माणका लागि भएका प्रयासका चर्चा गरे ।

त्यस्तै स्वास्थ्य बीमा कार्यक्रमको बारेमा केही चर्चा गरेका श्रेष्ठले अंग प्रत्यारोपण सम्वन्धी कानून र खोप ऐनका विषयमा बढी केन्द्रीत गरे । उनले सरकारी सेवालाई उत्कृष्ठ गर्ने चिकित्सकका लागि विशेष व्यवस्थ ागर्न लागिएको समेत जानकारी दिए ।

कार्यक्रममा विभागका निमित्त महानिर्देशक डा पुष्पा चौधरीले विभागका तर्फबाट भएका कामहरु र गर्न बाँकी कामको बारेमा जानकारी गराएकी थिइन् ।

राज्यमन्त्री र प्रमुख विशेषज्ञहरुको बहिस्कार

अतिथि भन्ने वित्तिकै ससानो कार्यक्रममा अघि सरेर हिड्ने स्वास्थ्य राज्यमन्त्री मोहमद मुस्ताक आलमले आफ्नो मन्त्रालयको सबैभन्दा महत्वपूर्ण कार्यक्रमलाई भने बहिस्कार गरे । उनी न उदघाट्न सत्रमा देखा परे न समापन सत्रमा । मन्त्रालय स्रोतका अनुसार मन्त्री चौधरीसंगको खटपटका कारण उनले बार्षिक समिक्षालाई नै बहिस्कार गरेका हुन् ।

मन्त्रालयमा रहेका सचिव सरहका अर्थात १२ तहका तीन जना प्रमुख विशेषज्ञहरुले पनि यसपटकको समिक्षा बैठकलाई बहिस्कार गरे । उनीहरु न उद्घाटनको दिनमा पुगे न त समापनको दिनमा नै । मञ्चमा उनीहरुको नेमप्लेट सहितका कुर्सीहरु तयार थिए तर बस्ने विशेषज्ञहरु थिएनन् ।

नेपालीहेल्थसंगको कुरागर्दै एक जना प्रमुख विशेषज्ञले मन्त्रीको कार्यशैली प्रति चित्त नबुझेपछि विरोध स्वरुप सामुहिक रुपमा बहिस्कार गरेको बताए । उनले मन्त्री र सचिवले आफूहरुलाई लामो समय देखी पेन्डुलम बनाएको भन्दै विरोध स्वरुप सल्लाह गरेरै समिक्षा बैठकमा भाग नलिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *