पन्ध्रसय बालबालिकाको मुटुको भिडियो एक्सरे !

eco
मुटुको भिडियो एक्सरे अर्थात इको गर्दै डा. रेग्मी

काठमाडौँ – धादिङको ज्यामरुङ गाविस-३, सिम्लेमा भएको दुई दिने बाथमुटुरोग निशुल्क स्वास्थ्य सिविरमा १ हजार पाँच सय बढी बालबालिकाको मुटुको भिडियो एक्सरे ( इको ) गरिएको छ । परीक्षणबाट १६ जनामा मुटुको समस्या देखिएको र तीमध्ये तीन जनाको तत्काल अप्रेसन गर्नुपर्ने अवस्था भएको पाइएको थियो ।

रोटरीक्वल अफ काठमाडौँ नर्थइष्ट र नेपाल हृदयरोग प्रतिष्ठानको संयुक्त आयोजनामा गत विहीबार र शुक्रबार भएको स्वास्थ्य सिविरका लागि काठमाडौँबाट ६ जना प्राविधिक सहित १० जनाको टोली ज्यामरुङ पुगेको थियो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाश राज रेग्मीको नेतृत्वमा, मुटुरोग विशेषज्ञ डा. कृष्ण श्रेष्ठ, डा. दिलजन मन्सुर सहितका चिकित्सकहरु पुगेका थिए ।

eco1
बालबालिका तथा अभिभावकलाई बाथमुटुरोगबारे प्रशिक्षण दिदै डा. रेग्मी

डा. रेग्मीका अनुसार दुई दिनमा ज्यामरुङका क्षेत्रका १० वटा विद्यालयबाट आएका १ हजार ८ सय बालबालिका मध्ये १ हजार ५ सय बालबालिकाको इको अर्थात मुटुको भिडियो एक्सरे गरिएको थियो । दुई वटा इको मेसिन सहित गाँउ पुगेको स्वास्थ्यकर्मीको टोलीले बाथमुटुरोगका लक्षण र बच्ने उपायका बारेमा विद्यार्थी र अभिभावकलाई प्रशिक्षण गराएको थियो ।

डा. रेग्मीका अनुसार पहिलो पटक मुटु परीक्षण गराएका मध्ये १२ जना बालबालिकालाई बाथमुटुरोग, तीन जना बालबालिकालाई मुुटुमा प्वाल र एक जनामा कार्डियोमायापेथी भएको पाइएको थियो । उनले मुटुमा प्वाल परेका तीन जनाको निशुल्क अप्रेसन गर्ने गरि काठमाडौँ ल्याइएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *