भरतपुर अस्पतालका तत्कालिन मेसु डा. भूर्तेल माथि अढाई करोड बढी भ्रष्टाचार गरेको आरोप
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेन्ट डा. केशवराज भूर्तेल विरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६६८ रुयैया भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले डा. भूर्तेल विरुद्ध अस्पताल भवन निर्माण गर्ने ठेकेदारसंग रकम असुल गरी कच्ची भवन बनाएको , स्टोरमा हुने सामान र उपकरण खरीदमा नाजायज फाइदा लिएको कलेज जग्गा भाडामा दिई आफूलाई गैरकानूनी फाइदा र अस्पताललाई हानी नोक्सानी गराएको आरोप लगाएको छ ।
त्यसैगरी आफ्नो सेयर रहेको मौलाकालिका अस्प्तालमा पाठेघरको अप्रेशनमा गैरकानूनी रुपमा रकम अशुल गरेको लगायतका कार्य गरी अकुत सम्पत्ति आर्जैन गरेको ठहर गरेको छ ।
अख्तियारले डा भूर्तेलको श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल अचल सम्पतिहरु रहेको पाइएको भन्दै श्रीमतीलाई समेत विपक्षी बनाई विशेष अदालतमा मुछा दायर गरेको छ ।
यस्तो छ अख्तियारको विज्ञप्ती
आरोपपत्र दायर गरिएको (गैर कानूनी सम्पत्ति आर्जन)
———————————————————
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट हुँदा डा. केशवराज भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसंग रकम असुल गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानूनीरुपमा फाईदा र अस्पताललाई हानी नोक्सानी गराएको, आफ्नो शेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रेशनमा गैरकानूनीरुपमा रकम असुल गरेको लगायतका कार्य गरी अकुत सम्पत्ति आर्जन गरी उक्त अवधिमा भरतपुर-११ मा बंगला, चितवन मेडिकल कलेजमा रु.६७,००,०००/- (अक्षरुपी सरसठ्ठी लाख) को शेयर, काठमाण्डौंको कलंकीमा बंगला, नवलपरासीको गैडाकोट र रजहर एवं चितवनका बिभिन्न ठाउँमा समेत चल अचल सम्पति जोडेकोले निज उपर कारवाही गरिपाउ भन्ने उजुरी अनुसन्धानका क्रममा निज डा. केशवराज भूर्तेलले भरतपुर अस्पताल, चितवन समेतका बिभिन्न सरकारी अस्पतालमा कार्यरत रही सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनीरुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले जम्मा बिगो रू. २,६३,५२,६६८/- (अक्षरुपी दुई करोड त्रिसठ्ठी लाख बाउन्न हजार छ सय अठसठ्ठी) कायम गरी सोही ऐनको दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पति निज डा. केशवराज भूर्तेलको श्रीमती रुक्मणी भूर्तेलको नाममा समेत चल अचल सम्पतिहरु राखेको देखिएकोले निज रुक्मणी भूर्तेललाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




