घलेले जनकपुरमा प्रसूतिगृह बनाइदिने

नेपाली हेल्थ / काठमाडौँ-ghale

गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले स्थापना गरेको एमआइटी ग्रुप फाउन्डेसनले जनकपुरस्थित क्षेत्रीय अस्पतालमा प्रसूतिगृह बनाइदिने भएको छ । एमआइटी फाउन्डेसनका संस्थापकद्वय घले र गुरुङले शनिबार जनकपुरस्थित क्षेत्रीय अस्पतालको निरीक्षण गरेका थिए ।

सो क्रममा अस्पताल व्यवस्थापनले प्रसूति सेवामा निकै चाप रहेको भन्दै व्यवस्थित बनाउन सहयोगको अनुरोध गरेको थियो । अस्पतालको आग्रहमा घले दम्पतीले प्रसूतिगृह बनाइदिने घोषणा गरेका हुन् । प्रसूतिगृह एमआइटी ग्रुप फाउन्डेसनमार्फत निर्माण हुनेछ । घले दम्पतीले नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी एक अर्ब रुपैयाँको सो कोष स्थापना गरेका हुन् ।

सन् २०११–१२ मा स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनअनुसार ६ वटा क्षेत्रीय अस्पतालमध्ये जनकपुर क्षेत्रीय अस्पतालमा बिरामीको सबैभन्दा धेरै चाप देखिएको थियो । अस्पतालमा मातृ–शिशु मृत्युदर पनि निकै उच्च रहेको देखिएको थियो । जनकपुर क्षेत्रीय अस्पतालमा ४५ प्रसूतिमध्ये २२ जनाको ज्यान जाने गरेको देखिएको छ । सो अवसरमा अस्पतालका अध्यक्ष नागेन्द्रप्रसाद चौधरीले वर्षमा करिब १४ हजारलाई प्रसूति सेवा दिइरहेको जानकारी दिए ।

धुनषासहित सात जिल्लाका गरिब तथा निम्नवर्गीय बिरामीलाई अस्पतालले सेवा दिइरहेको जानकारी दिँदै उनले अत्याधुनिक प्रसूतिगृह बन्न सके यो क्षेत्रकै लागि ठूलो उपलब्धि हुने बताए । अस्पतालको निरीक्षण र व्यवस्थापन पक्षसँगको छलफलपश्चात् अध्यक्ष घलेले छिटै प्रसूतिगृह निर्माणका लागि काम अगाडि बढाउने बताए ।

‘हामीले मौजुदा सरकारी संयन्त्रलाई नै कसरी बलियो र प्रभावकारी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका थियौँ,’ अध्यक्ष घलेले भने, ‘देशकै दोस्रो ठूलो प्रसूति सेवा दिने अस्पतालमा पूर्वाधारको दयनीय अवस्था रहेको थाहा पाएपछि हामी आफ्नै आँखाले हेरेर सहयोगको खाका बनाउन अस्पतालमै आएका हौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *