सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

84
Shares

काठमाडौँ, १४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ । तर नेपालमा यो दर कायम हुन सकेको छैन । सुर्तीजन्य पदार्थको कर बढाएर, यसको प्रचार र विज्ञापनमा नियन्त्रण गरेर, आम नागरिकलाई धुम्रपानको जोखिमबाट सुरक्षित बनाएर, प्याकेजिङ र लेबलिङमा चेतावनी सन्देश राखी जनतामा यसको चेतना बढाएर नियन्त्रण गर्न सकिन्छ ।”

मन्त्री पौडेलले सुर्तीजन्य उत्पादन नेपाल सरकारले बन्द गरेमा बजारमा सुर्तीजन्य पदार्थ हालभन्दा उच्च दरमा बिक्री हुने जोखिम रहने बताए ।

उनले भने, “यसबाट हुने रोगको रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेअनुसार सुर्तीजन्य पदार्थको नियन्त्रणमा जोड दिन जरुरी देखिन्छ । यसका लागि यसको माग घटाउने सबैभन्दा प्रभावकारी विधि भनेको कर बढाउने नै हो ।”

नयाँ पुस्तमा सुर्तीजन्य पदार्थको प्रयोगको प्रवृत्ति बढ्दै गएको र यसको प्रयोग हुनबाट जोगाउन पाठ्यक्रममार्फत नै चेतना फैलाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो ।

बिमित व्यक्तिहरुले सरल ढङ्गबाट सेवा पाउन नसकेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई प्राथमिकतामा राखेर यस सम्बन्धी ऐनलाई परिवर्तन गरी व्यवस्थित र सरलीकरण गर्न जरुरी रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *