स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका तयार पार्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका समस्या समाधानको खाका तयार पार्न निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रीफिङसहितको भेटघाटमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलले समस्या देखाउनेभन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र लिखित योजनासहितको खाका तयार गर्न निर्देशन दिए ।
‘सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाई लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौं,’ उनले भने ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ, प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ, उनले भने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




