एमालेले टुङ्ग्यायो मन्त्रीहरुको नाम, कांग्रेसले कसलाई पठाउँदैछ स्वास्थ्यमा ?

काठमाडौँ, ३१ असार । सत्ता घटक नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शनिबार राती शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्।
उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ।
मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको छ।
यस्तै विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि भन्ने टुंगो लागेको एक नेताले बताए।
यसैगरी एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्याउने भएको छ। अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो।
एमालेले मन्त्रीको नाम टुंगो लगाइरहँदा अर्को प्रमुख घटक नेपाली कांग्रेसबाट मन्त्रीको नाम अझै सार्वजनिक भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाली कांग्रेसको भागमा परे पनि को मन्त्री बन्दैछ भनेर अहिलेसम्म निश्चित भइसकेको छैन ।
यद्धपी प्रदीप पौडेल सम्भावना बढी देखिएको छ ।
कांग्रेसको शेखर गगन समूहले उनको नाम मन्त्रीको सूचीमा पठाएको र कांग्रेस सभापति शेरबहादुर देउवासमेत यसपटक उनको नाममा नरम देखिएका छन् ।
पौडेल आफैले पनि यस अघि नै स्वास्थ्य रोजेको र पार्टीका अधिकांशले उनका लागि स्वास्थ्य मन्त्रालय नै उपयुक्त हुने तर्क गरिरहेका बेला नेतृत्वले सोही निर्णय गर्ने धेरैको विश्वास छ ।
कांग्रेसको भागमा गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, उर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय परेको छ ।
प्रधानमन्त्री केपी ओलीले आज विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसंग पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ । त्यस अघि नै प्रधानमन्त्री ओलीले दुई दलबाट सिफारिस भएका मन्त्रीहरुलाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 

