नारायणी नदीमा बेपत्ता दुई डाक्टर अझै फेला परेनन्

724
Shares

चितवन, २५ साउन – तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।

वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा. पुकार खरेल रहेका छन् । काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा. खरेल इन्टर्न गरिरहेका थिए ।

उनीहरुसँगै पौडी खेलेका एक जनाको बग्न लागेको अवस्थामा उद्धार गरिएको थियो । इन्टर्न र अन्तिम वर्षमा पढिरहेका आठजना बिदाको दिन पारेर पौडी खेल्न गएका थिए ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक राजु थापाका अनुसार शनिबारदेखि नै उनीहरुको खोजी कार्य जारी रहेको छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको उद्धार टोली र जनपथ प्रहरीले सोमबार पनि खोजी कार्य जारी राखेको छ ।

सोमबार साँझसम्म पनि उनीहरुलाई फेला पार्न नसकिएको थापाले बताए । खोजी कार्यमा परिवार र आफन्त समेत जुटेको भए पनि नदीमा बाढी आएका कारण खोजी कार्य कठिन भएको उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *