बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर राखिने

0
Shares

सप्तरी, १८ साउन –  बाढीबाट प्रभावित सप्तरी जिल्लाका विभिन्न ठाउँमा महामारी र विभिन्न रोग फैलिन नदिनको लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिको सोमबार बसेको बैठकले निर्णय गरेको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा बसेको सो बैठकले केही दिन अगाडि अविरल वर्षाका कारण जिल्लामा बाढीप्रभावित क्षेत्रमा फैलिन सक्ने विभिन्न रोग तथा महामारीको रोकथामका लागि शिविर सञ्चालन गर्ने निर्णय गरिएको बैठकमा सहभागी जिविस सप्तरीका विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले बताए ।

यहाँ डुबानमा परेकालाई अस्थायी आवास शिविर निर्माण गरी बसाउने अवस्था नरहेको ठहर गर्दै बाढीप्रभावित गाविसमा राहत तथा डुबान क्षेत्रमा फैलिन सक्ने रोग एवम् महामारीको रोकथामका लागि आवश्यक स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको संयोजक झाले जानकारी दिए।

यता बाढीबाट प्रभावित गाविसमा राहत तथा उद्धार कार्यमा संलग्न व्यक्ति, सरकारी तथा गैरसरकारी निकायलगायत अन्तर्राष्ट्रिय दातृ निकायलाई समेत धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरमा औषधिलगायतको सामग्री उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालयलाई आग्रह गरिएको छ ।

केही दिन अगाडि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले जिल्लामा करिब तीन हजार घर डुबानमा परेका थिए ।-  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *