विश्व हेपाटाइटिस दिवसको अवसरमा शुक्रा डाइग्नोस्टिकले गर्यो प्रभातफेरी र परिसम्वाद
दिवसकै अवसर पारेर सरकारी शुल्क दरमै हेपाटाइटिसको परीक्षण गर्ने अफर
काठमाडौँ, १२ साउन । विश्व हेपाटाइटिस डे को सन्दर्भमा पारेर पानीपोखरीस्थित शुक्रा डाइग्नोष्टिक सेन्टरले शुक्रबार जनचेतनामुलक प्रभात फेरीको आयोजना गरेको थियो ।
विहान ७ बजे पानीपोखरीबाट बालुवाटार, गैरीधारा, लैनचौर लाजिम्पाट हुँदै सोही ठाँउमा आएर टुंगिएको प्रभातफेरीपछि सेन्टरमै यस सम्वन्धी विज्ञहरुलाई राखेर सम्छिप्त अन्तरक्रिया तथा परिसम्वाद कार्यक्रम गराइएको थियो ।
कार्यक्रममा सिभिल अस्पताल, अल्का अस्पताल र शुक्र डाग्नोस्टिकका विज्ञहरुको सहभागिता थियो ।
प्रस्तुत छ विश्व हेपाटाइटिस दिवसको सन्दर्भमा व्यक्त बिचारको सम्पादित अंश :

डा. थुप्तेन लामा – कलेजो रोग विशेषज्ञ, सिभिल अस्पताल
प्रत्येक वर्ष २८ जुलाईका दिन विश्व हेपाटाइटिस दिवस मनाइने गरिन्छ । डा. बारुच ब्लुम्बर्ग भन्ने एक जना बैज्ञानिकले सन १९६७ मा हेपाटाइटिस बी पत्ता लगाएका थिए ।
त्यसको २ बर्ष पछि अर्थात सन् १९६९ मा यस विरुद्धको खोप समेत विकास हुन सफल भयो । हेपाइटिस बी पत्ता लगाउने उनै बैज्ञानिकलाई सम्मान गर्दै उनको जन्मदिन पारेर प्रत्येक वर्ष २८ जुलाईमा यो दिवस मनाउन थालिएको हो ।
हेपाटाइटिस भनेको कलेजोमा हुने एक सुजन हो । कलेजोका कोषहरुलाई हेपाटोसाइट भनिन्छ । यसलाई कुनै कारणले असर गरयो भने त्यसलाई हेपाटाइटिस भनिन्छ ।
हेपाटाइटिस बी फाउण्डेसनका अनुसार संसारभर हेपाटाइटिस बी संक्रमित व्यक्तिहरुको संख्या ३०० मिलियन बढी छ ।
हामीले आज भाइरल हेपाटाइटिसमा केन्द्रीत रहेर कुरा गर्दैछौँ । यसमा पनि प्राय हेपाटाइटिस बी र सीबारेमा बढी केन्द्रीत हुन्छौँ । त्यसो त हेपाटाइटिस ए र इ पनि छ । हेप ए र ई प्राय फोहर खाने कुरा, तथा दुषित पानीबाट लाग्ने गर्दछ । स्वस्थ खाना खानु भयो, शुद्ध पानी पिउने गर्नु भयो भने हेप ए र ई को समस्या नहुन सक्छ । हेप ए र ई यो आफ्से आफ निश्चित समय पछि ठिक हुन पनि सक्छ ।
तर, हेपाटाइटिस बी र सी भनेको दीर्घकालसम्म रही रहन सक्छ । हामीलाई सबै भन्दा बढी समस्या हुने भनेको पनि हेपाटाइटिस बी र सीबाट हो । मानिसमा जटिलता देखिने र लामो समय सम्म रहि रहने पनि बी र सी हुन् ।
खासगरी हेपाटाइटिस बी र सी चाहि रगतबाट सर्छ । असुरक्षित यौन सम्पर्कबाट पनि सर्छ । अर्को इन्जेक्सनबाट पनि सर्छ । सुई साटासाट गर्नेहरुमा पनि यो समस्या बढी हुन्छ ।
हेप बी र सी चाहि लिभर क्यान्सर अर्थात कलेजोको क्यान्सर गराउने मुख्य कारण पनि हो । अझ् त्यसमा विशेषगरी हेपाटाइटिस बी ।
- डा. अनन्त श्रेष्ठ – कलेजो रोग विशेषज्ञ, अल्का अस्पताल
पूर्ववक्ता साथीले हेपाटाइटिसको बारेमा धेरै कुरा भन्नु भयो । मैले यहाँ फेरी के जोड दिन चाहन्छु भने, हेपाटाइटिसबाट मृत्यु हुनेको संख्याको कुरा गर्दा भयावह छ । हेपाटाइटिसबाट विश्वमा अहिले प्रत्येक ३० सेकेण्डमा एक जना मानिसको मृत्यु हुने गरेको छ ।
तर, यसले अहिले पनि महत्व पाइरहेको छैन् ।
विश्वका जति पनि स्वास्थ्यमा सहयोग गर्ने एजेन्सीहरु छन् उनीहरुको फोकस अहिले पनि एचआईभी नियन्त्रणमा मात्रै बढी केन्द्रीत देखिन्छ । जबकी जनधनको क्षतिको तुलना गर्ने हो भने एचआईभी भन्दा हेपाटाइटिसमा कयौँ गुणा बढी छ । त्यसैले हामी भन्दछौँ अब एचआईभीलाई जस्तै हेपाटाइटिसबारे सचेतना बढाउन जरुरी छ ।
यसलाई आम मानिस देखि नीति निर्माता स्वास्थ्यका निकायहरुमा पुरयाउन जरुरी छ । हेपाटाइटिसविरुद्धको अभियान चलाउन जरुरी छ । जो आज हामीले यहाँ गरिरहेका छौँ । आजको हाम्रो यो उदेश्य हेपाटाइटिसविरुद्ध सचेतना जगाउन हो ।
डा. लामाले भनिसक्नु भयो भाइरल हेपाटाईटिसमा ए बी सी डी ई हुन्छ । यी मध्ये नेपालमा ए र ई, बी र सी देखिने गरेको छ । डी भने यहाँ देखिएको छैन् । ए र ई विशेष त पानीबाट सर्छ । त्यसले विशेषगरी बर्खाको बेलामा देखिने जन्डिस देखिने, बोमिट हुने, खान मन नलाग्ने लगायतका कुरा जो हुन्छन् । त्यो हेप ए र ईबाट बढी हुने गर्दछ । मैले यहाँ निर जोड्नु मन लाग्यो खासमा हेप ए र ई ९९ प्रतिशतमा आफै निको हुन्छ । एक देखि ३ महिना भित्र । मात्रै १ प्रतिशतमा जटिलता देखा पर्ने हो । त्यो जटिलताले कहिलेकाँही लिभर फेलियर सम्म पुग्न सक्छ । त्यो अवस्थामा पुग्दा यसले मृत्यु दर पनि बढाएको छ ।
हेप बी र सी दीर्घकालिन रोग हो । एक पटक कलेजोमा छिरेपछि आफै त्यो हराउँदैन । त्यो शरीरमा रहि रहन्छ । विस्तारै बिस्तारै कलेज ड्यामेज गराउँदछ । बर्षौ सम्म क्षति पुरयाउँदै जाँदा कलेजो विस्तारै कडा हुँदै जान्छ । कलेजो प्राय नरम हुनुपर्छ । जव कडा हुन्छ त्यसलाई हामी सिरोसिस भन्दछौँ । सिरोसिस भएपछि कलेजोले काम गर्दैन । त्यो अवस्थालाई हामी कलेजो फेल भएको अवस्था भन्दछौँ । सिरोसिस भएपछि लिभर क्यान्सर हुन पनि सक्छ । नभइकन पनि लिभर क्यान्सर हुन सक्छ । तर सिरोसिस भएपछि लिभर क्यान्सरको सम्भावना बढेर जान्छ ।
हेप बी र सीलाई साइलेन्ट रोग भन्ने गरिन्छ । तपाईँले रगतको जाँच नगरेसम्म बी र सी भएको थाहा ने नहुन सक्छ । किनभने यसको लक्षण हुँदैन ।
हेपाटाइटिसको जाँच गर्ने नीति देशहरु पिच्छे फरक फरक हुनसक्छ । नेपालले अहिलेसम्म जाँच गर्ने छुट्टै रणनीति बनाएको छैन् । तर हामी कलेजोरोग विशेषज्ञले दिने सुझाव के भने हेप बी सबैलाई नै जाँच गर्न राम्रो हुन्छ, एक पटक टेष्ट गर्ने हामीले त्यसमा नेगेटिभ आएमा खोप लगाउने । किनभने हेपाटाइटिस कसलाई हुन्छ कसलाई हुन्न भन्ने छैन् । जसलाई पनि हुनसक्छ । त्यसबाट जोगिन अर्थात भविस्यमा नलागोस भन्नका लागि जाँच गर्ने र खोप लगाउने भनिएको हो ।
हेपाटाइटिस सीको सन्दर्भमा अलि सेलेक्ट गर्नु पर्दछ । यो हेपाटाटिस सबैलाई हुँदैन । हेपाटाइटिस सी सुईबाट सर्ने हो । जसले बढी सुईको पूयोग गर्दछ उसलाई यसको जोखिम बढी हुने भयो । जस्तै : लागू औषध प्रयोगकर्ताहरु जसलाई ९० प्रतिशत बढीलाई यो संक्रमण भएको विभिन्न अनुसन्धानले देखाएको छ । यसैले लागू औषध प्रयोगकर्तालाई हेप सीको जाँच अनिवार्य नै हुन्छ । जसले बढी टाटु लगाउँछ उसले पनि गर्नै परयो । कुनै कुनै बिरामीहरु हुन्छन जसलाई नियमित रुपमा रगत दिई राख्नु पर्दछ । जस्तै थालेसिमिया अथवा ब्लड क्यान्सरसंग जोडिएका रोग भयो अथवा डायलासिस गरि राख्नु पर्ने बिरामी भयो उनीहरुमा जाँच गर्नु पर्दछ । यी बाहेक आम सर्वसाधारणले पनि ढुक्क हुनका लागि जाँच गराउँछु भन्नु भयो भने जाँच गर्न चाहि मिल्छ । बी चाहि एक पटक सबैले जाँच गराउनु पर्छ भन्ने हाम्रो सुझाव छ ।
नेपालमा केही वर्ष अघिको तथ्यांक हेर्दा हेपाटाइटिस बी कुल जनसंख्याको ०.९ प्रतिशत अर्थात कुल एक हजार व्यक्तिमा जाँच गर्दा ९ जनामा देखिने अवस्था छ । जो एकदमै कम हो । हेप सी को तथ्यांक हेर्दा ०.४ प्रतिशत छ तर लागू औषत प्रयोगकर्तामा यो ९० प्रतिशतमा देखिन्छ । अहिले व्लड बैंकको तथ्यांक हेर्ने हो भने लगभग लगभग उस्तै नै छ ।
हेप वी र सी कसलाई छ कसलाई छैन भनेर यत्तिकै थाहा हुँदैन । जाँच गर्ने पर्छ ।
दोस्रो कुरा अहिले परीक्षणको उपलव्धता छ । तेस्रो अहिले उपचार गर्ने व्यवस्था पनि छ । सी निको हुन सक्छ । तीन महिनाको औषधिबाट हेप सी नियन्त्रणमा आउँछ । हेप बी अहिलेसम्म कियोर छैन तर कसैलाई लागेको छ र त्यसमा रोग संक्रिय छ भने त्यसलाई निस्क्रिय पार्ने उपचार छ । सिरोसिस, लिभर फेलियर र क्यान्सरबाट बचाउन सकिन्छ ।
- सन्तोषकुमार साह – माइक्रो बाइलोजिष्ट, शुक्र डाइग्नोस्टिक
हेपाटाइटिसबारेमा पूर्ववक्ता डाक्टरद्धयले भनि सक्नु भयो । मैले यहाँ के जोड दिन चाहन्छु भने विना लक्षण देखा पर्ने हेपाटाइटिस बीबाट सुरक्षित हुन एक पटक सबैले जाँच गरौँ ।
किनभने हेपाटाइटिस भनेको एक प्रकारको भाइरल इन्फेक्सन हो । यसलाई प्रयोगशालामा विभिन्न विधीबाट जाँच गर्न सक्छौँ । खासगरी कलेजोको परीक्षण बायोकेमेस्ट्रीबाट हुन्छ । भाइरल मार्कर हुन्छ । भाइरल लोड भन्ने जाँच हुन्छ । एलाइजाबाट यसको डाइग्नोस गर्न सकिन्छ । एउटा प्रयोगशालामा विभिन्न जाँचहरु गर्न सकिन्छ ।
मेरो अनुभव विश्वमै देखिएको ट्रेन्ड चाहि हेप बी र सीको कुरा गर्दा १८ देखि ४० वर्ष उमेर समूहका मान्छेमा बढी देखिएको छ । सी चाही लागू औषध प्रयोगकर्तामा बढी हुन्छ । असुरक्षित यौन सम्पर्कबाट पनि यो समस्या देखा पर्दछ । अर्को अत्याधिक मदिरापान गर्ने व्यक्तिहरुमा लिभर सिरोसिस भएको र लिभर क्यान्सर समेत पुग्ने अवस्थामा रहेको छ ।
यहाँ निर नै मैले जोड्न चाहेँ, ‘भर्खरै सञ्चालनमा आएको शुक्र डाइग्नोस्टिकले विश्व हेपाटाइटिस दिवसको सन्दर्भ पारेर आजबाट एक महिनासम्म हेप बी र सीको जाँचमा विशेष सहुलियत प्रदान गरिरहेको छ । अझ स्पष्ट भनौँ, नेपाल सरकारले तोकेको शुल्क अर्थात राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले लिने शुल्कमै हामीले हेप बी र सीको परीक्षण गर्ने अफर ल्याएका छौँ । एक महिनासम्म यो सुविधा आम सर्वसाधारण र बिरामीका लागि उपलव्ध गराएको छ । विहान जाँच गरेमा बेलुकासम्म रिपोर्ट आइसक्छ । यसैले जाँच गरौँ र ढुक्क भएर बसौँ ।’
सम्पर्क इमेल : [email protected]