नयाँ बानेश्वर क्षेत्रको सार्वजनिक स्थानमा अब धूमपान गर्न नपाईने
काठमाडौँ, २४ असार । अब देखि नयाँ बानेश्वर क्षेत्रको सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाईने भएको छ । नयाँ बानेश्वर व्यापार संघ, काठमाडौँ महानगरपालिका वडा नं १० र स्थानीय क्लव तथा टोल सुधार समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
यो निर्णय आगामी १ साउन देखि पूर्ण रुपमा कार्यान्वयनमा आउने बताइएको छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ मा पनि सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाइने भनेको छ । नयाँ बानेश्वर व्यापार व्यावसायी संघका अध्यक्ष नवीन लुईटेलले आगामी १ साउन देखि नयाँ बानेश्वर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्न रोक लगाइएको बताए । उनले त्यसविरुद्ध गएर कसैले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा कानून अनुसार कारवाही हुने समेत बताए ।
‘धूमपान मानव स्वास्थ्यका लागि अत्यन्तै हानीकारक चिज हो । तर अहिले चियापसल होस वा सार्वजनिक स्थल धूपमान गर्ने प्रचलन निकै बढेर गयो । नयाँ बानेश्वरको चखु बकु मन्दिर वरपर त धूमपान प्रयोगकर्ताको अखडा नै हुन थाल्यो । त्यसैले हामीले यो अभियान सुरु गरेका हौँ । शंखमुल देखि पुरानो बानेश्वर सम्मको क्षेत्रका सार्वजनिक स्थलमा धूमपान निषेध गरिनेछ,’ अध्यक्ष लुईटेलले भने ।
उनले स्थानीय टोल सुधार समिति, महानगर र क्लवहरुसंग समन्वय गरेर आफूहरु अघि बढी रहेको बताए । उनले सोमबारबाट नै यो निर्णय लागू गर्ने भनिए पनि थप केही तयारी गर्नु पर्ने भएकोले १ साउन देखि सुरु गर्ने योजनामा पुगेको बताए । उनले बानेश्वर पार्क तथा सार्वजनिक स्थलमा मद्यपान गर्न समेत निषेध गरेको सुनाए ।
काठमाडौं महानगरपालिकाको आव २०८०/०८१ को नीति तथा कार्यक्रमको ५२ नम्बर बुँदामा सार्वजनिक स्थानहरुमा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाइने उल्लेख गरिएको महानगरपालिकाका मेयर बालेन शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले जानकारी दिए।
उनले भने, ‘सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८’ को व्यवस्था कार्यान्वयन गर्दै हामी सार्वजनिक स्थानहरूमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रूपमा रोक लगाउँदै छौँ। उक्त ऐनको दफा ११ मा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रदर्शनमा बन्देज लगाइएको छ। १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन।’
पछिल्लो समय स्थानीय सरकारले नसर्ने रोगको प्रमुख कारक धूमपान प्रयोगलाई निषेध गर्ने योजना कार्यान्वयनमा ल्याउन थालेका छन् ।
सम्पर्क इमेल : [email protected]