स्वास्थ्य बीमाको सात वर्ष, नागरिकको आवद्धता २२ प्रतिशत मात्रै
काठमाडौँ, २५ चैत । सरकारले स्वास्थ्य बीमा सुरु गरेको सातौँ वर्ष पुगेको छ । विसं २५ चैत २०७२ साल देखि नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । त्यस यता अहिलेसम्म ६४ लाख ५४ हजार ७७२ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यो नेपालको कुल जनसंख्याको करीव २२ प्रतिशत हो ।
तर, अहिले नविकरण गरेकाको संख्या भने ३८ लाख ७१ हजार ८५० मात्रै रहेको छ । यो कार्यक्रममा आवद्धता हुँदा बार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर एक घर परिवारको (पाँच जना) सदस्यलाई १ लाख रुपैयाँसम्मको उपचार सेवा प्रदान गरिएको छ ।
अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगेको भए पनि सबै पालिकामा लागू भईसकेको छैन् । कुल ७५३ पालिका मध्ये अहिलेसम्म ७४८ वटा पालिकामा मात्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालमा आएको बताइएको छ । कार्यक्रम लागू नभएका काठमाडौँ, ललितपुर महानगर लगायतका पालिकाहरुमा प्रथम विन्दु तोक्न समस्या हुँदा कार्यक्रम लागू गर्न ढिलाई भएको बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बताए ।
स्वास्थ्य बीमा बोर्डले अहिलेसम्म अति गरीव ४ लाख ९८ हजार ७२२ जना, जेष्ठ नागरिक ७ लाख ७७ हजार ८१६ जना, एचआईभी संक्रमित र तिनका परिवार गरी ३२ हजार ५३० जना, अति अशक्त विमित १ लाख २२ हजार १५४ जना, कुष्टरोग बिरामी ३ हजार २४२ जना र एमडीआर क्षयरोग भएकाहरु ३ हजार १७ जनलाई निशुल्क रुपमा स्वास्थ्य बीमा आवद्धता गरिएको बताएको छ ।
यस्तै १ लाख ९ हजार ६०७ जना परिवारका सदस्य सहितका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट सुविधा दिएर स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गराएको उल्लेख गरेको छ ।
बार्षिक बजेट १७ अर्व, ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ भएकोमा आलु आर्थिक वर्षको १५ चैत सम्म कुल खर्च ९ अर्व ९७ लाख ३१ हजार २० रुपैयाँ (५२ प्रतिशत) खर्च भएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]