नेतृत्वले सहि बाटो समात्दा सुधारिदै गएको चिकित्सालय नरदेवी
काठमाडौँ, ५ कात्तिक । नेतृत्व सहि पर्यो भने भुत्ते हुँदै गएको संस्थामा पनि कसरी सुधार आउन सक्दो रहेछ भन्ने उदाहरण बनेको छ आयुर्वेद चिकित्सालय नरदेवी । तीन वर्ष अघि र अहिलेको तुलना गर्दा आकास जमिन फरक परेको छ ।
‘छि’ त्यस्तो अस्पताल ! भन्नेहरुले अहिले ‘आहा यस्तो अस्पताल !’ भन्न थालेका छन् ।
‘तर, पनि हामी धेरै गर्न बाँकी छ । गर्ने प्रयासमा छौँ,’ चिकित्सालयका निर्देशक डा प्रदीप केसी ढुक्कले भन्छन् ।
विसं १९७४ अर्थात आज भन्दा १०५ वर्ष अघि स्थापना भएको यो चिकित्सालय सरकारी तहबाट स्वास्थ्य सेवा प्रदान गर्न खुलेको दोस्रो संस्था हो । काठमाडौँको ‘कोर एरिया’ भित्र रहेको यो चिकित्सालय सेवाको हिसावले पनि यस वेलासम्म आफूलाई विशिष्ठ पहिचान सहित उभ्याउनु पर्दथ्यो । तर त्यस्तो हुन सकेन ।
विस २०६५ देखि २०७५ सालसम्म त नेतृत्व विहीन बन्यो । निमित्तको भरमा चलेको संस्थाको अवस्था दयनीय बन्दै गयो । तर अहिले अवस्था फेरिएको छ । डा. केसी नेतृत्वमा आएपछि चिकित्सालय आफ्नो ऐतिहासिक महत्वलाई पुर्नजिवित गर्ने प्रयासमा अघि बढेको छ ।
तीन वर्ष अघिसम्म चिकित्सालय परिसर सार्वजनिक पार्किङ स्थल थियो । कतै कतै फोहर फ्याक्ने डम्पिङ साइट जस्तो पनि । बिरामी आउँदैनथे, आउनेले पनि राम्ररी सेवा पाउँदैनथे । काम गर्ने स्वास्थ्यकर्मीहरुलाई न तालिम थियो न त प्रोत्साहनका अन्य कुरा ।
‘अहिले त्यो अवस्थामा परिवर्तन आएको छ । पार्किङ व्यवस्थित छ, फोहर व्यवस्थापन गरिएको छ । उपचार सेवामा पनि निकै सुधार भएको छ । बिरामीको संख्या बढेको छ । संख्या बढ्दा अस्पतालको आम्दानी पनि बढेको छ । त्यो भन्दा ठूलो कुरा विश्वास बढेको छ । अनि उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका कार्यक्रम सुरु गर्न थालिएको छ र पहिलेको तुलनामा मनोवल समेत बढेको छ,’ नविसाईकन निर्देशक डा केसीले आफू नेतृत्वमा आईसकेपछि गरेका सुधारका प्रयासलाई छोटकरीमा प्रस्तुत गरे ।
अस्पताल तथा चिकित्सालयमा बिरामी नै आएनन भने कि त देशमा बिरामी हुन छाडे भनेर बुझ्नु पर्छ कि त त्यो चिकित्सालयको सेवा प्रति आम मानिसको विश्वास छैन् भनेर बुझ्न पर्छ । यस्तै चिकित्सालय भित्रको वातावरण तथा सरसफाई र अन्य स साना व्यवस्थापनले पनि संस्था कुन स्तरमा चलेको छ भन्ने बुझाउँदछ । केही वर्ष अघिसम्म नरदेवीको अवस्था त्यहि थियो तर अहिले धेरै सुधार भएको देखिन्छ ।
‘केही वर्ष अघिसम्म यहाँ दैनिक ३०-४० को संख्यामा सेवा लिनका लागि बिरामीहरु आउथे अहिले त्यो संख्या बढेर दैनिक दुई तीन सय पुगेको छ । यो त हामी प्रतिको विश्वास हो नि, डा केसीले भने ।
सेवामा सुधार ल्याउने क्रममा चिकित्सालयमा शल्य चिकित्सा अन्तर्गत स्पाइनल एनेस्थेसिया सहित क्षारसूत्र चिकित्सा सेवाको विस्तार गरिनुका साथै पञ्चकर्म चिकित्सा सेवामा डिलक्स सुविधा सहित स्तरोन्नति र अकुपञ्चर चिकित्सा सेवा विस्तार गरिएको छ । यस्तै फिजियोथेरापी सेवा, अस्पताल परिषरमै बैँकिङ सेवा विस्तार, फार्मेसी सेवा, जेष्ठवासादि मिश्रण औषधि निर्माण, जडिबुटी उद्यान निर्माण, पाकशाला व्यवस्थापन, २३ प्रकारका निःशुल्क औषधि वितरण, लगायत सबै काममा कम्प्युटर प्रणाली लागू गर्नुका साथै चिकित्सालय विकास समितिको आम्दानीबाट चिकित्सक र कर्मचारीहरुलाई योगदान र समानतामा अधारित भई प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराइएको छ ।
त्यहि निर डा केसीले जोडे, ‘स्वास्थ्यमा प्रोत्साहन भत्ताको कुरा निकै उठ्ने गर्दछ । तर नरदेवीमा अहिलेसम्म कसैले यस्तो भत्ता पाएको थिएन । तर हामीले त्यो सुरुवात गर्न सफल भयौँ ।’

सिमित जनशक्तिबाट काम गरिरहेको भएपनि कुनैपनि सार्वजनिक विदामा चिकित्सालय बन्द नगरिएको डा केसीले जानकारी दिए।
‘भुत्ते’ हुँदै गएको संस्थालाई ‘बुटिक’ बनाउन लागि परेका डा. केसीले भावी योजना सुनाउदै भने, ‘जीर्ण अवस्थामा रहेको प्रशासनिक र आवासगृह भत्काएर चिकित्सालयको गुरुयोजना अनुसार दोस्रो नयाँ भवन निर्माण कार्य सुरुवात गर्छौ, जेष्ठ नागरिकलाई लक्षित गर्दै जेरियाटिक केयर अन्तर्गतका अल्जाइमर, पार्किन्सन, पक्षाघात, स्पाइनल कर्ड इन्जुरी लगायत रोगहरुमा पञ्चकर्म, शिरोधारा, अकुपञ्चर, मनोसामाजिक परामर्श सहित गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ ।’
उनले आयुर्वेद चिकित्सालय सफल हुनुको श्रेय त्यहाँ खटिएका सुरक्षाकर्मी देखि आफ्ना सहकर्मी चिकित्सक तथा कर्मचारीहरुलाई जाने बताए । ‘मैले त नेतृत्वमा रहेर यो मोडलमा काम गर्ने भन्ने योजना पेश गरेको मात्रै हुँ । यसलाई कार्यान्वयन तहमा ल्याएर सफल बनाउने त हाम्रो तल देखि माथिका तहसम्मका सबै सहकर्मी साथीहरु हुन नि । त्यसैले श्रेय त उहाँहरुलाई नै जान्छ,’ उनले भने ।
अस्पतालको अकुपंचर विभागकी प्रमुख डा जया सत्यालले आयुर्वेद उपचार नेपालको मौलिक उपचार भएको हुनाले यसलाई जोगाउनु पर्ने बताइन्। उनले भनिन् ‘आयुर्वेद उपचार हाम्रो देशको मौलिक चिकित्सा पद्दति हो। तर, अहिले आम मानिसमा आयुर्वेद चिकित्साको बारेमा गलत भ्रम फैलिएको छ। संचार माध्यममा गरिएका भ्रमात्मक विज्ञापनले गर्दा पुरै आयुर्वेद चिकित्सा माथि नै प्रश्न उठेको छ। त्यसकारण त्यस्ता भ्रमहरुलाई तोडेर खबरदारी गर्दै काम गर्ने कोसिसमा छौँ,।’
यसैबीच चिकित्सालयले आइतबार (भोली) विहान धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस २०७९ मनाउने भएको छ । “स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेदू भन्ने नाराका साथ मनाउन लागिएको यो कार्यक्रममा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह आउने बताइएको छ । दिवसकै अवसरमा सेवा निबृत्त कर्मचारीहरुलाई सम्मान साथै उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको डा केसीले बताए ।
हरेक वर्ष कार्तिक कृष्ण त्रियोदशीका दिन आयुर्वेद उपचार प्रयोग गर्ने नेपाल, भारत तथा अन्य मुलुकहरूमा यो दिवस मनाइन्छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




