औषधि व्यवसायी अधिकारी प्रदेश सभा सदस्यका लागि सिफारिस

काठमाडौँ, २३ भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि यतिवेला राजनीतिक दलहरुले उम्मेद्धार टुंगो लगाउने प्रक्रियामा छन् । स्वतन्त्र रुपमा उठ्न चाहनेहरुले भने धमाधम उम्मेद्धारी घोषणा गरिरहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पुराना भन्दा नयाँ, पाका भन्दा युवापुस्ताले बाजी मारे । त्यसैले पनि राजनीतिक दलहरुको ध्यान यसपटक युवा र नयाँ उम्मेद्धारको खोजीमा केन्द्रीत देखिन्छ ।
यसैबीच नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौँ क्षेत्र नं २ (क)ले युवा उद्यमी तथा औषधि व्यवसायी विप्लभ अधिकारी प्रदेश सभा सदस्य पदमा प्रत्यक्षतर्फबाट उम्मेद्धारी बनाउन पार्टीको क्षेत्रीय कार्यसमिति समक्ष नाम सिफारिस गरेको छ । गत १५ भदौमा बसेको कांग्रेसको क्षेत्रीय कार्यसमिति काठमाडांै क्षेत्र नं २ (क)को बैठकले अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
युवा उद्यमी तथा व्यावसायी अधिकारी नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव समेत हुन् । गगन थापाले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा अधिकारी पनि कोर टिममा थिए । स्वास्थ्यमा नीतिगत सुधार र औषधि क्षेत्रलाई व्यवस्थित बनाउन आफूले त्यसबेला धेरथोर भूमिका खेलेको समेत बताउँछन् ।
‘यसपटक माहोल युवा पुस्ताको छ । पार्टीले पनि मूल्यांकन गरि नाम सिफारिस गरेको छ । उम्मेद्धार भएँ भने जनताबीच आफ्ना भिजन र अजेण्डा लिएर प्रस्तुत हुनेछु । औषधि र स्वास्थ्य भन्ने चिज जो सुकैसंग जोडिने विषय र आफू त्यसमा केन्द्रीत भएर काम गरिरहेकोले यसलाई समेत मुल मुद्धा बनाई अघि बढ्नेछु,’ अधिकारीले भने ।
उनले आफ्नो नाम सिफारिस गर्ने पार्टीका प्रतिनिधि तथा सुभेच्छुकलाई धन्यवाद समेत दिएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

