सिमकोटको पानीमा भेटियो कोलिफर्म

72
Shares

हुम्ला, १६ साउन । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ ।

सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जीवाणु भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताए ।

पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो। त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो। पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे। हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोग हुनसक्ने संयोजक भण्डारीले बताए ।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम ९वास०का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने ‘वाकटेक’ मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए ।

अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने छ। गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य प्रयोगशाला परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *