पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल
भरतपुर, २७ जेठ । झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ ।
सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।
विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन् ।
सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताए ।
चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिइँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उहाँको भनाइ छ ।
अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताए ।
त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ ।
भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए।
यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उनले बताए ।
एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।
रासस
सम्पर्क इमेल : [email protected]