मनाङमा ६० जनाको आँखाको शल्यक्रिया

76
Shares

मनाङ, १२ जेठ । हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ। तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो ।

विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताए। उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो ।

तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सन्दुक रोहितको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो। हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए। आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा रोहितले बताए ।

बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उनको भनाइ थियो। गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका थिए। नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताए ।

“गाउँबाट आँखा जचाउन चामे आएको थिएँ, काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ”, उनले भने, “सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले ठीक हुने बताएका छन् ।”

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *